काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुन तस्करीको प्रमाण दिँदा पनि तस्करकै संरक्षण गरेको आरोप लगाउनु भएको छ।
नारायणघाट-बुटवल सडक खण्डमा पदयात्रामा निस्कनुअघि सोमबार बिहान पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेले गृहमन्त्री श्रेष्ठ नै सुन तस्कर जोगाउन लागेको आरोप लगाउनु भएको हो।
गृहमन्त्री श्रेष्ठले अध्यागमन विभागका महानिर्देशक झलकाराम अधिकारीलाई मन्त्रालय तानेर सुन तस्करहरुलाई जोगाउन लागिपरेको लामिछानेकोआरोप छ। लामिछानेले अभियुक्त दावा छिरिङसँग बारम्बार म्यासेज आदानऔप्रदान भएको प्रमाण लगेर दिँदा पनि कारबाही नभएको बताउनु भयो।
लामिछानेका अनुसार ६१ किलो सुन प्रकरणमा गृहमन्त्रीको सचिवालय र अधिकारीबिच सम्बन्ध रहेको दाबी छ। ‘जीवन चलाउने भन्ने मानिस को हो भनेर एक पटक सोध्नुहोला। झलकरामजीसँगको उहाँको सम्बन्ध के हो ? गृहमन्त्रीसँगको सम्बन्ध के हो ? गृहमन्त्रीको वरिपरि भएका मानिससँगको सम्बन्ध के हो भनेर सोध्नुहोला। मैले यो भन्नै पर्ने भयो,’ लामिछानेले भन्नुभयो।
गृहमन्त्रीजीले उहाँलाई मन्त्रालय तान्नुभयो छानबिन गरेजस्तो गर्नुभयो सकियो त्यसपछि। उहाँ (गृहमन्त्री)लाई त त्यो अनुसन्धान प्रहरीतिर ल्याउनु थियो। उहाँहरु मान्छेलाई सायद जोगाउनु थियो होला। अहिले पनि सरकार फेरबदल हुन लाछ, यो गृहमन्त्री हुन जान लाग्यो कि क्या हो, यसलाई त ठेल्नुपर्छ कि क्या हो भन्ने सोच उहाँलाई भएको होला। तपाईँको सरकार तपाईँलाई मुबारक। म त्यो रेसमा पनि छैन, यो गठबन्धनको रेसमा पनि छैन ।
मलाई त्यसमा कुनै चासो छैन । तपाईँ सम्हाल्नुस् । अहिले मात्रै होइन बाचुन्जेल गृहमन्त्री खानुहोला । भलै तपाईँलाई गृहमन्त्री बन्नको लागि चुनाव हारे पनि जित्नु परेन तर म यो देशको सबैभन्दा धेरै मत ल्याएको सांसदको हैसियतले भन्न चाहन्छु गृहमन्त्रीज्यू तपाईँ आफ्नो मान्छेहरूलाई जोगाउनुहोला ।




प्रतिक्रिया