काठमाडौँ-नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले ध्यान शिविरहरुका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य भएको बताउनु भएको छ।
नागपुरको रेसिमबाग मैदानमा सञ्चालित ध्यान शिविरमा सहभागी हुँदै उहाँले ध्यान शिविरहरु नेपालमा पनि सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो।
सचिव भट्टराईले सो शिविरलाई हिमालय ध्यान शिविरको रुपमा चित्रण गर्दै त्यस्तो ध्यान शिविर नेपालमा पनि सञ्चालन गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । हिमालय क्षेत्रबाट नै सो शिविर प्रादुर्भाव भएकाले नेपाल यसको पेटेन्ट राईट मुलुक भएको समेत उहाँले जिकिर गर्नुभयो ।
सचिव भट्टराईले भन्नुभयो, ‘मानव जातीले आफ्नो ज्ञानको क्रममा ८ सय वर्ष अगाडि हिमालय पर्वतमालाबाट शुरु यो ध्यान शिविर, जसलाई हामीले हिमालय ध्यान शिविर भनेका छौं। यो एउटा मानव जातिका लागि अद्वितीय उपहार हो । यो ध्यान शिविरमा प्रख्यात हुनुहुन्छ शिव कृपानन्द स्वामी । उहाँले समेत हिमालय क्षेत्रमा आफूले ध्यान गरेर थुप्रै अनुभवहरु प्राप्त गर्नुभएको छ। नेपालको रसुवा जिल्लाको शिवु गाउँमा एउटा गुफाबाट शुरु भएको यो ध्यान शिविरले आज विश्वका ७० भन्दा बढी मुलुकहरुमा प्रभाव छोडेको छ। र नेपाल पनि त्यसको एउटा भाग बनेको छ।’
उहाँले त्यस्ता खालको ध्यान शिविरहरुका लागि नेपाल विश्वकै सुन्दर ठाउँ भएकाले नेपालले पनि त्यस्ता सामूहिक ध्यान शिविर सञ्चालन गर्दै अघि बढ्नसक्ने समेत बताउनु भयो ।
गत पुस ३ गतेबाट शुरु भएको सो ध्यान शिविर १० दिनसम्म चल्नेछ । ७० राष्ट्रका करिव १ लाख ५० हजार साधकहरुको सहभागिता रहेको बताइएको सो शिविरमा गुरु शिव कृपानन्द स्वामीले प्रवचन दिइरहेका छन्।




प्रतिक्रिया