अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलाममा सञ्चालित सुपरमाई हाइड्रोको उत्पादन बन्द

इलाममा सञ्चालित सुपरमाई हाइड्रोको उत्पादन बन्द


इलाम-इलाममा सञ्चालित सुपरमाई हाइड्रोपावरको उत्पादन स्थानीयद्वारा बन्द गरिएको छ। हाइड्रोले छोड्नुपर्ने जति पानी खोलामा नछोडेको र  स्थानीयको माग सम्बोधन नगरेको भन्दै स्थानीयवासीले सोमबार रातिदेखि उत्पादन बन्द गराएका हुन्। 

इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाबीचको माईखोलामा हाइड्रोपावर सञ्चालित छ। स्थानीयले खोलाको पानी हाइड्रोमा जान नदिई बगरमा पानी कटाइदिएको स्थानीय हरि भण्डारीले जानकारी दिनुभयो। सो हाइड्रोपावरले माईजोगमाई-५ सोताङमा ३० घण्टा सडक मर्मतका लागि स्काभेटर उपलब्ध गराउने भन्दै स्थानीयलाई पटकपटक झुक्याएका कारण हाइड्रोको उत्पादन बन्द गर्नुपरेको उहाँले बताउनुभयो । ‘खोलामा छोड्नुपर्ने २० प्रतिशत पानीसमेत उहाँहरूले छोड्नु भएको छैन,’ भण्डारीले भन्नुभयो । 

सुरुमा स्थानीयवासीले माग गरेको ३० घण्टा सडक मर्मतका लागि स्काभेटर दिने भनिएको र वडाबाट सिफारिस लिएर आउन आग्रह भएको थियो। माईजोगमाई गाउँपालिका-५ वडा कार्यालयको सिफारिससहित जाँदासमेत स्काभेटर उपलब्ध नगराएपछि उत्पादन बन्द गराउनु परेको बताइएको छ। स्थानीयवासीले सोमबार रातिदेखि नै जाग्राममा बसेर उत्पादन बन्द गराएका हुन् । 

सबै पानी खोलातर्फ लगाइदिएपछि उत्पादन पूर्ण रूपमा बन्द भएको छ। माग पूरा नभएसम्म आन्दोलन नरोकिने स्थानीयको भनाइ छ। हाइड्रो सञ्चालकले स्थानीयका माग पूरा नगर्ने, पूरा गर्ने भनेर झुक्याउने गरेपछि उत्पादन बन्द गरिदिएको स्थानीयको भनाइ छ । सोमबार राति ११ बजेदेखि नै हाइड्रोतर्फ गएको पानी खोलातर्फ कटाइदिएको जनाइएको छ। 

 हाइड्रोका प्रमुख कार्यकारी अधिकृत दिनेश बर्तौलाले स्थानीयका माग पूरा गर्ने भन्दाभन्दै उत्पादन बन्द गरिदिएको बताउनुभयो। उहाँले हाइड्रोको गेटसमेत बन्द गरेकोे जानकारी दिनुभयो। स्थानीयवासीले पटकपटक माग बढाउने गरेको उहाँको भनाइ छ। पछिल्लो समय शेयर लगानीमार्फत ५० हजार बढी सञ्चालक रहेको हाइड्रोको एकल निर्णय गर्न नपाइने भएकाले माग पूरा गर्न समय लागेको हाइड्रोले जनाएको छ। उत्पादन बन्द भएपछि सो हाइड्रोले दैनिक पाँच लाख बढी घाटा बेहोर्नुपर्छ। हाइड्रोपावर सात दशमलव आठ मेघावाट क्षमताको छ।
 

Skip This