धनगढी-ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागि ज्यान गुमाएका दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको न्यायको लागि धनगढीमा प्रदर्शन गरिएको छ।
धनगढीमा आइतबार दिउँसो प्रदर्शन गरिएको हो। मृतकका आफन्तले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
मृतकका आफन्तले न्याय माग्दै धनगढी चौराहदेखि मुख्यमन्त्री कार्यालयसम्म प्रदर्शन गरेका थिए।
कोरियाली भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै भएको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो। घटनामा मृत्यु भएका दुवै जनालाई शहीद घोषणा गर्न पनि माग गरिएको छ। मृतकहरूलाई शहीद घोषणा गर्नुपर्ने र परिवारका एकएक जनालाई रोजगारीको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ।
आन्दोलनमा घाइते भएकाहरूको उपचारको व्यवस्था गर्नुपर्ने, बेपत्ताहरूको खोजीनीति गरी उनीहरूको अवस्था सार्वजनिक गर्न पनि माग गरिएको छ।
घटनास्थलको सीसीटीभी फुटेज सुरक्षित राखी छानबिनको आधार बनाउनुपर्ने र मृतकको आफन्तको इच्छाअनुसार सदगदको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ।




प्रतिक्रिया