काठमाडौं-रुसी सेनामा भर्ती हुन गएका थप तीन जना नेपालीको मृत्यु भएको छ। रुस-युक्रेन युद्धमा उनीहरुको मृत्यु भएको हो।
परराष्ट्र मन्त्रालयमा प्राप्त सूचनाअनुसार पछिल्लो पटक युद्धमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धार्दिङका राजकुमार गिरीको मृत्यु भएको हो । योसँगै रुस–युक्रेन युद्धमा गएर मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ।
परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा पुस ४ सम्ममा मृत्यु हुने नेपालीको संख्या ७ पुगेको जनाएको थियो। जसमा स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागल रहेका छन्।
रुसी सेनामा भर्ती भएर युक्रेनी फौजले ४ जना नेपालीलाई कब्जामा लिएका छन्। उनीहरूलाई छुटाउने सम्बन्धमा परराष्ट्रले गृहकार्य गरिरहेको छ। मंसिर १८ गते मारिएका धादिङका पूर्णबहादुर गुरूङको सम्बन्धमा हालसम्म कुनै पनि आधिकारिक सूचना मन्त्रालयले बाहिर ल्याएको छैन। गुरुङको परिवारले भने उनको काजकिरिया गरिसकेको छ।
परराष्ट्र मन्त्रालयका अनुसाररुसी सेनामा भर्ना भएकामध्ये १०० जना सम्पर्कविहीन रहेको निवेदन प्राप्त भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले केही समयअघि नै यो सूचना सार्वजनिक गर्नुभएको थियो।




प्रतिक्रिया