काठमाडौँ–सन् २०२४ को पहिलो उल्का वर्षा आज र भोलि गरी दुई दिन हुने भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार पुस १९ र २० गते राति अत्यधिक मात्रामा उल्का वर्षा हुन लागेको हो । यसलाई भूतप उल्का वर्षा नाम दिइएको छ ।
भट्टराईले भन्नुभएको छ, ‘भूतप उल्का वर्षा स्थानीय समय अनुसार पुस १९ गते दिउँसैदेखि अत्यधिक मात्रामा सक्रिय भए पनि राति ११ः३० बजेदेखि २० गतेको सूर्योदय भन्दा अगाडि हेर्न सकिनेछ।’’
अत्यधिक उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले नै आकाशको अवलोकन गर्न सकिने उहाँले जानकारी दिनुभयो । उल्का वर्षा प्रतिघण्टा ५० देखि १२० वटासम्म हुने अनुमान गरिएको उहाँको भनाइ छ । आगोका झिल्का जस्तै देखिने उल्का वर्षा करिब ७० किलोमिटर माथि वायुमण्डलमा देखिनेछन् ।
‘पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई हामी उल्का वर्षा भन्दछौँ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा तारा खसेको पनि भनिन्छ’’, अध्यक्ष भट्टराईले भन्नुभयो ।




प्रतिक्रिया