काठमाडौँ-नेकपा एमालेका युवा नेता एवं प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीले विकास र समृद्धिका लागि देशभित्र बलियो लगानीमैत्री वातावरण बनाउन जरुरी रहेको बताउनु भएको छ।
सांसद भण्डारीले नेपालको आर्थिक एवं औद्योगिकसमेतका क्षेत्रमा विकास नहुनुमा देशभित्र उपयुक्त लगानीमैत्री वातावरण बनाउन पर्याप्त काम हुन नसक्नु मुख्य कारण रहेको बताउनु भयो ।
सांसद भण्डारीले भन्नुभयो, ‘देशभित्र लगानीमैत्री वातावरण निर्माण गर्नेतर्फ कानुनी र प्रक्रियागत झन्झटसमेतका अनेक बाधा व्यवधान रहेका छन् । त्यसमा आमूल सुधार नगरी स्वदेशी वा विदेशी जुनसुकै लगानी आकर्षित गर्न सकिँदैन। देशभित्र स्वच्छ र सहज औद्योगिक वातावरण नबन्दासम्म उद्योगधन्दा, कलकारखाना खोल्न सकिँदैन।’
उद्योगधन्दा फस्टाउन र लगानी आकर्षित गर्नका लागि नेपालका पुराना कानुनहरु मुख्य रुपमा बाधक रहेको उहाँले बताउनु भयो । ‘एउटा उद्योग खोल्न लाग्यो भने फाइल वन मन्त्रालय, वनसँग सम्बन्धित विभाग र कार्यालयहरुमा अड्किन्छ, अख्तियारमा अड्किन्छ, अलिअलि सुरु ग¥यो फेरि सर्वोच्च अदालतले रोकेको हुन्छ”, उहाँले भन्नुभयो, ‘यसले गर्दा लगानीकर्तालाई सुरक्षित वातावरण हुन सकेको छैन। ढुक्क भएर लगानी गर्ने स्थिति छैन । नेपालमा जुडीबुटी, कृषिमा आधारित उद्योग सञ्चालन गर्ने प्रचुर सम्भावना छ, यसको ब्रान्डिङ गर्न सकिएको छैन, यसको प्रचार गर्न सकिएको छैन।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने जिम्मेवारी सांसद भण्डारीलाई दुई महिनामात्र प्राप्त भएको थियो । त्यसअघि उहाँ छ महिना अर्थराज्यमन्त्री भएर पनि काम गर्नुभयो ।
‘नेपालले चीन र भारतसँग प्रतिस्पर्धा गरेर उद्योगधन्दा सञ्चालन गर्न सक्दैन। यही बुझेर सातै प्रदेशमा उद्योग सञ्चालन गर्ने एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले नीति अगाडि सारेको थियो’, पूर्वमन्त्री भण्डारीले भन्नुभयो, ‘एउटा प्रदेशमा कम्तीमा एउटा नयाँ उद्योग सञ्चालन गर्ने नीति थियो, तत्कालीन सरकारले अघि सारेको योजनालाई वर्तमान सरकारले अघि बढाएन, सम्भावना भएका उद्योग पनि सञ्चालनमा आउन सकेका छैनन् ।’




प्रतिक्रिया