अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समृद्धिका लागि संकल्प यात्राले नयाँ सपना देखाएको छ: महेश बस्नेत

समृद्धिका लागि संकल्प यात्राले नयाँ सपना देखाएको छ: महेश बस्नेत


काठमाडौं-नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले देशमा चारैतिर निराशा छाइरहेको बेला नेकपा एमालेले सञ्चालन गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लाग संकल्प यात्राले नागरिकमा एउटा उत्साह थपेको बताउनुभएको छ।

राष्ट्रिय युवा युवा संघ नेपालले आयोजना गर्न लागेको केपी ओली कप तयारी बैठकलाई बिहीबार सम्बोधन गर्दै बस्नेतले सो यात्रा नेपालको एउटा ऐतिहासिक यात्रा भएको बताउनुभयो । ‘यात्राले नयाँ सपना देख्न छाडेकालाई ब्युँझाउने काम गरेको छ’, उहाँले भन्नुभयो।

केपी ओलीले विगतमा आफ्नो प्रधानन्त्रीकालमा मध्यपहाडी लोकमार्ग, हुलाकी लोकमार्ग, पूर्वपश्चिम लोकमार्गको निर्माण र स्तरोन्नतिको काम सुरु गर्नुभएको उहाँले स्मरण गराउनुभयो। एमालेको पालामा २७ वटा उत्तर-दक्षिण लोकमार्ग निर्माणको काम सुरु भएका, ३९५ वटा अस्पताल निर्माणको काम सुरु भएको, रेलमार्ग निर्माण गरी रेल ल्याएको, सुरुङमार्ग निर्माणको काम सुरु भएको उहाँले बताउनुभयो। समृद्धिको लागि संकल्प यात्राले यी सबै कुरालाई झकझक्याउने काम गरेको उहाँको भनाइ छ।

पहाडमा मान्छे नै बस्दैनन् भन्दै पहाडबाट बसाइसराइ गर्ने क्रमले पहाडको जनजीवनमा निराशा छाइरहेको बेला यात्राले एउटा नयाँ सन्देश दिएको उहाँले प्रष्ट पार्नुभयो। सो यात्राको क्रममा राष्ट्रिय युवा संघ नेपालको योगदान उल्लेख्य रहेको उहाँले बताउनुभयो।

जाजरकोट भूकम्प पछिको उद्धार र अस्थायी आवास निर्माण पनि राष्ट्रिय युवा संघ नेपालको भूमिका प्रशंसनीय रहेको बस्नेतले बताउनुभयो। राज्यले गर्न नसकेको काम यस पटक राष्ट्रिय युवा संघ नेपालले गरेको भन्दै बस्नेतले प्रशंसा गर्नुभयो। ‘राष्ट्रिय युवा संघ नेपालले अप्ठेरो परेको बेलामा जनताको बिचमा हामी छौँ भन्ने सन्देश दियो’, उहाँले भन्नुभयो।

अहिले अराजकतावादी, पुनरुत्थानवादी र पपुलिष्ट र अराजकतावादी तत्त्वहरूको पापको शृङ्खला बाहिर आउन लागेको उहाँले बताउनुभयो । त्यस्ता शक्तिलाई अझै धक्का दिन आवश्यक रहेको उहाँको भनाइ छ। सहकारी ठगेर राजनीतिमा आएकाहरू अहिले लाज छोप्न सञ्चारमाध्यमका विरुद्ध मुद्दा हाल्न हिँडेका भन्दै बस्नेतले आलोचना गर्नुभयो। नयाँ दल भनाउँदाको अहिले देखिएको प्रवृत्तिका विरुद्ध व्यापक भण्डाफोर गर्न आवश्यक रहको उहाँले प्रष्ट पार्नुभयो।

लक्ष र उद्देश्यलाई दृढताका साथ लिएर हिँडेको संगठन राष्ट्रिय युवा संघ नेपाल रिस्क जोनमा हिँड्नु पर्ने उहाँले बताउनुभयो। राष्ट्रिय युवा संघ नेपालले रिस्क बक्नै पर्ने बस्नेतको भनाइ छ।