काठमाडौं-नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सत्ता गठबन्धन सामाजिक सद्भाव भड्काउने गतिविधि गरेको आरोप लगाउनु भएको छ।
राष्ट्रिय अपाङ्गता संगठन नेपालद्वारा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै नेता पोखरेलले एमालेले सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा काम गर्दै आएको स्मरण गराउनु भयो । उहाँले भन्नुभयो, ‘वर्तमान सत्ता गठबन्धन सामाजिक सद्भाव खलबल्याउने काममा लागेको छ।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, ‘गठबन्धनको नेतृत्व गर्नेहरू जातीय सद्भावलाई भड्काउन पहिचानको नाममा आगो सल्काउने काम गरिरहेका छन्, जसको हामी निन्दा र भर्त्सना गर्न चाहन्छौँ।’
कुनै पनि जाति सानो वा ठूलो नहुने र कसैलाई विभेद गर्न नहुने पोखरेलले बताउनु भयो। तर पहिचानको नाममा जातीय सद्भाव भड्काइन्छ भने नेकपा एमालेलाई उक्त कुरा मान्य नहुने उहाँले प्रष्ट पार्नुभयो ।
नेता पोखरेलले अहिले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुरा कमजोर बनेको बताउनु भयो । हिजो सरकारमा हुँदा विदेशीले अतिक्रमण गरेको भूमि फिर्ता लिनुपर्छ भनेर सम्पूर्ण देश भरिका शक्तिलाई एक ठाउँमा उभ्याउने काम एमालेले गरेको उहाँले बताउनु भयो।
अहिले गठबन्धनका प्रधानमन्त्रीले भारत भ्रमणमा जाँदा त्यसको बारेमा बोल्न समेत नसकेको भन्दै उहाँले आलोचना गर्नुभयो। उहाँले भन्नुभयो, ‘एक शब्द पनि बोल्दैनन्, हाम्रो मिचिएको भूमि फिर्ता लिनुपर्छ भनेर कूटनीतिक पहल र प्रयत्न पनि गर्दैनन्, त्यस्तो एउटा निर्लज्ज र कायर खालको भूमिका उनले खेलिरहेका छन्।’




प्रतिक्रिया