अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अहिलेको स्वतन्त्रता र नागरिक अधिकार शहीदको बलिदानको प्रतिफल : पूर्वराष्ट्रपति भण्डारी

अहिलेको स्वतन्त्रता र नागरिक अधिकार शहीदको बलिदानको प्रतिफल : पूर्वराष्ट्रपति भण्डारी


काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हामीले अहिले उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदको बलिदानको प्रतिफल भएको बताउनुभएको छ । 

शहीद दिवस २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले शहीदको बलिदानकै कारण स्वाधीन र सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपालको स्वतन्त्र नागरिकका रूपमा उँचो शिर लिएर बाँच्न पाएको उल्लेख गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले शहीदको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको रक्षा गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य पूरा गर्नेतर्फ सबै अग्रसर हुनु नै शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।

निरङ्कुस र तानाशाही शासन व्यवस्थाको स्मरण गर्नुहुँदै उहाँले पहिलाका दिनमा हामी ‘नागरिक’ हैन ‘रैती’को रूपमा शिर झुकाएर बाँच्न विवश भएको उल्लेख गर्नुभयो ।  

“नेपाली जनतालाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका विभिन्न आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने महान् सहिद धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीलगायत सम्पूर्ण ज्ञात–अज्ञात अमर शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु”, जारी शुभकामना सन्देशमा उहाँले उल्लेख गर्नुभएको छ ।

उहाँले न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत समाजका साथै समृद्ध राष्ट्र बनाउने शहीदको सपनालाई मूर्त रूप दिन आ–आफ्नो तर्फबाट इमान्दारीताका साथ भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।