अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाल्पा दुर्घटना अपडेट : १० जनाको मृत्यू,१६ जना घाइते

पाल्पा दुर्घटना अपडेट : १० जनाको मृत्यू,१६ जना घाइते


बुटवल- पाल्पाको तिनाउ गाउँपालिका–६ मा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । अन्य १६ जना घाइते भएका छन् ।

डुम्रेबाट चिदिसतर्फ जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार अपराह्न ४ः५० बजे पाल्पाको मस्यामस्थित इको फर्महाउस नजिकै दुर्घटना हुँदा ७ महिला र ३ पुरुषको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवम् डीएसपी सुगन्ध श्रेष्ठका अनुसार मृत्यु हुनेमा पाल्पाको तिनाउ गाउँपालिका–६ की ६० वर्षीया यन कुमारी पन्त, २८ वर्षीया उर्मिला अस्लामी, ३९ वर्षीय रामबहादुर अस्लामी र ६७ वर्षीय कृणबहादुर अस्लामी छन् ।

यस्तै पाल्पाको तिनाउ गाउँपालिका २ खुर्साने बस्ने २० वर्षीया गीता सुनार, पाल्पाको रिब्दीकोट गाउँपालिका १ ख्या बस्ने ६६ वर्षीया विष्णुकला कामी र सोही ठाउँकी ६५ वर्षीया दिल कुमारी सुनारको पनि दुर्घटनामा मृत्यु भएको छ ।
यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका १४ तामनगर बस्ने ७० वर्षीय चन्द्रगोपाल रणपाल, बुटवल १४ कै ६० वर्षीया चुना रणपाल र रुपन्देहीको देवदह नगरपालिका–५ की २९ वर्षीया दिलमाया जिसीको पनि दुर्घटनामा मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीले जिप चालक पाल्पाको तानसेन नगरपालिका–१० बस्ने ४५ वर्षीय दानबहादुर चिदीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार मुस्ताङ जिप आफैं अनियन्त्रित भई कच्ची सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।

दुर्घटनाको जानकारी पाएपछि प्रहरी चौकी प्रभास र जिला प्रहरी कार्यालय पाल्पाबाट टोली परिचालित भएका थिए । उनीहरुले घाइतेहरुलाई उद्धार गरी लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि पठाएका थिए । १५ जना अट्ने जीपमा २७ जना यात्रु राखेपछि अनियन्त्रित भएर पल्टिएको स्थानीयबासीले बताएका छन् । प्रहरीले दुर्घटनाको कारण खोजिभइरहेको जनाएको छ ।

अत्यधिक लोडका कारण जिप दुर्घटना भएको प्रहरी उपरीक्षक हेरम्व शर्माले बताउनुभयो । । क्षमताभन्दा बढी लोडका कारण उकालोमा तान्न नसक्दा ब्याक भएर जिप दुर्घटना भएको प्रहरी उपरीक्षक शर्माको भनाइ छ।