अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सांसद अम्बर रायमाझीद्वारा राहत विवतरण

एमाले सांसद अम्बर रायमाझीद्वारा राहत विवतरण


काठमाडौं- नेकपा एमाले उदयपुर क्षेत्र-२ का सांसद अम्बर बहादुर रायमाझीले लघुबित्त र मिटरब्याज पीडितहरूलाई राहत सामग्री विवतरण गर्नुभएको छ।

उदयपुर जिल्लाको चार नगरपालिका र चार गाउँपालिका  वडा र विभिन्न गाउँबाट काठमाडौंमा भेला भएका लघुबित्त र मिटरब्याज पीडितहरूका निम्ति  एमालेका सांसद रायमाझीले काठमाडौंको पशुपति गौशला धर्मशाला परिसरमा पुगेर राहत विवतरण गर्नुभएको हो।

पीडितहरुलाई चिउरा, भुजा, दालमोठ, पानी र खाद्य सामग्री वितरण गरिएको सांसद रायमाझीले जानकारी दिनुभयो। उहाँले भन्नुभयाे, ‘मिटरब्याज पीडितहरुले यतिबेला काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छ्न्। साे आन्दोलनका निम्ति उदयपुर जिल्लाबाट पनि धेरै जना काठमाडौंमा आउनु भएको छ। उहाँहरुकाे धेरै गुनासाे आएको हुनाले पीडित बसेको स्थानको अबलोकन गर्न र उहाँहरुलाई केही राहत हाेस भन्ने हेतुले चिउरा, भुजा, दालमोठ, पानी तथा खाद्य सामग्री विरण गरियाे।’

राहत विवतरणमा नेकपा एमाले उदयपुर कटारी नगर कमिटीका अध्यक्ष सन्जिव कार्की, नेकपा एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चका उपाध्यक्ष खड्ग बहादुर मगर, सम्पर्क मञ्चका सहसचिव दौलत विक्रम राउत, सम्पर्क मञ्चका सदस्य केशर बहादुर मगरको पनि उपस्थिति रहेको थियो।

उदयपुरका मिटरब्याज पीडितहरुले सांसद अम्बरबहादुर रायमाझीलाई आफ्नो समस्या सुनाएका थिए। उनीहरुले आफ्ना माग पूरा गराउन आवश्यक पहलका लागि अनुरोध गरेका थिए।

मिटरब्याज पीडितहरूको आन्दोलनप्रति पार्टीको ऐक्यबद्धता रहेको सांसद अम्बर रायमाझीले बताउनुभएको थियो। सो विषयमा संसदबाट कानुन समेत बनेको हुँदा सरकारले मिटरब्याजीहरूलाई कारबाही र पीडितलाई न्याय दिनुपर्ने एमालेको स्पष्ट धारणा रहेको उहाँले बताउनुभयो।

जनताको परिस्थितिलाई बुझ्ने माननीयज्यू पीडितको तर्फ उदयपुरको नेतृत्व लिएर आउनुभएको अध्यक्ष बिना मगरले धन्यवाद व्यक्त गर्नुभएको थियो।

सरकारसँगको सहमतिपछि आन्दोलन स्थगित गरेको १७ महिनामै मिटरब्याज पीडितहरू फेरि आन्दोलित छन् । यसअघि भएको सहमतिलाई ‘धोका’ भन्दै उनीहरू विभिन्न मागसहित आन्दोलित भएका हुन्।

२० दिनभन्दा लामो समय हिँडेरै काठमाडौँ आएका उनीहरू यतिबेला काठमाडौँ केन्द्रित आन्दोलनमा छन् । २०७९ भदौमा काठमाडौँ केन्द्रित आन्दोलन गरेका उनीहरूसँग सरकारले वार्ता गरेर २०७९ असोज १ गते ५ बुँदे सहमति गरेको थियो ।