काठमाडौं–उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले देशको अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ।
नेपाल तयारी पोशाक उद्योग संघको २९औँ वार्षिक साधारणसभाको उदघाटन गर्दै उपप्रधानमन्त्री महासेठले सरकार र निजी क्षेत्रबीचको सहकार्यबिना मुलुकले आर्थिक विकासमा फड्को मार्न नसक्ने बताउनुभयो।
सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका समस्या हटाउनुपर्ने पनि उहाँले बताउनु भयो। ’निजी क्षेत्र मात्रै अघि बढ्छु भनेर उहाँहरूले मात्र सक्नुहुन्न, निजी क्षेत्रलाई बाइपास गरेर जान्छु भनेर सरकारले भन्यो भने पनि सफल हुँदैन,’ मन्त्री महासेठले भन्नुभयो, ‘देश बनाउने तपाईं हामीले नै हो, मुलुकको आर्थिक अवस्था सबल बनाउन सबैको सहकार्य आवश्यक छ।’
यातायातमन्त्री महासेठले सरकार निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने भन्दै सरकारबाट हुन सक्ने सबै प्रकारको सहयोग निजी क्षेत्रलाई गर्ने प्रतिबद्धता पनि जनाउनुभयो। मन्त्री महासेठले नेपालको आर्थिक वृद्धिदर अहिले ७.१ प्रतिशतबाट झरेर दुई प्रतिशत भन्दा तल आएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यसअघि प्रधानमन्त्री रहँदा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहेको स्मरण गर्नुभयो।




प्रतिक्रिया