काठमाडौं-नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानको संरक्षणका लागि पापड (पत्रकारसम्बद्ध विभिन्न सङ्घसंस्थाको साझा सञ्जाल) लाई सक्रिय बनाउँदै चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको छ।
मिडिया काउन्सिल विधेयक, आमसञ्चार कानुन र प्रेस स्वतन्त्रताको रक्षा विषयमा महासङ्घले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियाले प्रेस स्वतन्त्रताको संरक्षणका लागि आन्दोलनसहित विभिन्न दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निष्कर्ष निकालेको हो।
अन्तरक्रियाले प्रेस काउन्सिलसम्बन्धी अध्यादेश एकपक्षीय रहेको र सरोकारवालासँग पर्याप्त छलफल नगरी ल्याइएको ठहर गर्दै उक्त विधेयक फिर्ता लिन राष्ट्रपतिसमक्ष आग्रह गर्ने निर्णय गरेको छ।
केही दिनअघि पत्रकारमाथि भएको धरपकड र गिरफ्तारीका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न पनि महासङ्घले माग गरेको छ। यस विषयमा प्रधानमन्त्री, मन्त्रीहरू तथा राजनीतिक दलहरूको ध्यानाकर्षण गराउने महासङ्घले जनाएको छ।
त्यस्तै, संसद्मा विधेयकको विरोध तथा प्रतिवादको वातावरण निर्माण गर्न सांसदहरूसँग बहस र पैरवी गर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्ने अन्तर्राष्ट्रिय निकायहरूको ध्यानाकर्षण गराउने र जेनजी अगुवाहरूसँग अन्तरक्रिया गर्ने निष्कर्षसमेत निकालिएको छ।
प्रेस स्वतन्त्रता र संविधानप्रदत्त अधिकारमाथि हुने कुनै पनि हस्तक्षेपविरुद्ध पत्रकारिता क्षेत्र एकजुट हुनुपर्ने निष्कर्षसहित महासङ्घले आगामी दिनमा थप दबाबमूलक कार्यक्रम अघि बढाउने जनाएको छ।



प्रतिक्रिया