अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इनम सापकोटाको मोबाइल प्रकरणमा सत्ताको दुरुपयोग भएको पद्मा अर्यालको आरोप

इनम सापकोटाको मोबाइल प्रकरणमा सत्ताको दुरुपयोग भएको पद्मा अर्यालको आरोप


काठमाडौं-नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले इनम सापकोटाको मोबाइल प्रकरणमा सत्ताको चरम दुरुपयोग भएको आरोप लगाएकी छन्।

बिहीबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले प्रहरी अनुसन्धानमा रहेको व्यक्तिको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीका सल्लाहकारको निजी निवासमा राखिनु गम्भीर विषय भएको बताइन्। उनले यस घटनाले प्रमाण नष्ट हुन सक्ने आशंका जन्माएको उल्लेख गरिन्।

सुशासनको नारा दिएर सत्तामा आएको सरकारले यस प्रकरणमा कानुनी र नैतिक दुवै हिसाबले जवाफ दिनुपर्ने उनको भनाइ थियो।

प्रहरी अनुसन्धानमा रहेको व्यक्तिको मोबाइल प्रधानमन्त्रीका सल्लाहकारको निजी निवासमा पुग्नु, त्यसमा रहेका म्यासेज डिलिट हुनु र मोबाइल स्क्यान गरिनुजस्ता विषय गम्भीर रहेको उनले बताइन्। घटनामा संलग्न व्यक्तिहरूमाथि निष्पक्ष छानबिन हुनुपर्ने मागसमेत उनले गरिन् ।

अर्यालले नेपाल प्रहरी कुनै दल वा व्यक्तिको निजी संस्था नभई राज्यको व्यावसायिक र स्वतन्त्र निकाय भएको बताइन्। प्रहरीमाथि हुने राजनीतिक हस्तक्षेपले शान्ति सुरक्षा र संस्थागत स्वायत्ततालाई कमजोर बनाउने उनको भनाइ थियो।

उनले वर्तमान सरकार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको भएकाले सरकारले गरेका कामको जवाफदेहिता पनि रास्वपाले नै लिनुपर्ने तर्क गरिन्।