अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महासचिव पोखरेलको प्रश्न- जेनजी आन्दोलन कसले कब्जा गर्‍यो ?

एमाले महासचिव पोखरेलको प्रश्न- जेनजी आन्दोलन कसले कब्जा गर्‍यो ?


काठमाडौं-नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले जेनजी आन्दोलनको वास्तविक नेतृत्व, त्यसका उपलब्धिको स्वामित्व र वर्तमान सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै आन्दोलनका घटनाक्रमको निष्पक्ष समीक्षा गर्नुपर्ने बताएका छन्।

महासचिव पोखरेलले जेनजी पुस्ताले स्थगित गरेको आन्दोलन त्यसपछि टीओबी समूहले कब्जा गरेको दाबी गर्दै आन्दोलनको नेतृत्व कसले गरेको थियो र त्यसका उपलब्धिको राजनीतिक स्वामित्व कसले लिएको हो भन्ने विषय स्पष्ट हुनुपर्ने बताएका हुन्।

आन्दोलनका क्रममा प्रयोग भएका रासायनिक पदार्थको स्रोत, प्रयोगको उद्देश्य र त्यसमा संलग्न पक्षबारे पनि महासचिव पोखरेलले प्रश्न उठाएका छन्। जेनजी युवाको नाममा भएको आन्दोलनका क्रममा भएका गतिविधि र त्यसको राजनीतिक लाभ कसले लियो भन्ने विषयमा निष्पक्ष छानबिन हुनुपर्ने उनको धारणा छ।

महासचिव पोखरेलले प्रधानमन्त्रीको कार्यशैली र सरकारको लोकतान्त्रिक जवाफदेहितामाथि समेत प्रश्न गरेका छन्। लोकतान्त्रिक व्यवस्थामा प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै उनले सरकार र राजनीतिक दलहरूबीच संवाद तथा सहकार्य आवश्यक रहेको बताएका छन्। प्रधानमन्त्रीको संवादहीनताप्रति उनले असन्तुष्टि व्यक्त गरेका छन्।

त्यस्तै, इनाम सकोटाको मोबाइल फोन प्रधानमन्त्री कार्यालयमा रहेको र त्यसमा भएका प्रमाण नष्ट गरिएको भन्ने चर्चाबारे पनि पोखरेलले प्रश्न उठाएका छन्। उक्त मोबाइल प्रधानमन्त्री कार्यालयसम्म कसरी पुग्यो, त्यसमा रहेका प्रमाणको अवस्था के छ र प्रमाण नष्ट गरिएको भए त्यसमा को जिम्मेवार छ भन्ने विषयमा निष्पक्ष अनुसन्धान हुनुपर्ने उनको भनाइ छ।

आन्दोलनको नाममा सत्ता प्राप्त गरे पनि लोकतान्त्रिक उत्तरदायित्वबाट उन्मुक्ति पाउन नसकिने पोखरेलले बताएका छन्। सरकार जनताप्रति, प्रधानमन्त्री संसद्प्रति तथा राज्यका निकाय संविधान र कानुनप्रति जवाफदेही हुनुपर्ने उनको तर्क छ।

जेनजी आन्दोलनले उठाएका सुशासन, पारदर्शिता र जवाफदेहिताका मुद्दा वर्तमान सरकारले सम्बोधन गरे वा नगरेको विषयमा पनि गम्भीर समीक्षा आवश्यक रहेको पोखरेलको धारणा छ।