अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्षमा निर्वाचित गरेकामा राष्ट्रियसभाका सदस्यलाई धन्यवाद

अध्यक्षमा निर्वाचित गरेकामा राष्ट्रियसभाका सदस्यलाई धन्यवाद


काठमाडौँ-राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले आफूलाई अध्यक्षमा निर्वाचित गरेकामा सभाका सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा उहाँले आफूलाई राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित गरेकामा राष्ट्रियसभाका सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष हुनुअघि चार दशक राष्ट्रिय राजनीतिमा बिताएको उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका निम्ति आफूले व्यक्तिगत वा संस्थागत भूमिका निर्वाह गरेको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, “मैँले सम्झेसम्म जनतालाई धोका हुने काम गरेको छैन, मैँले प्राप्त गरेको यो भूमिका खास पारिवारीक सम्बन्धसँग जोडेर चर्चा गरिएको पनि पाएको छु, तर हाम्रो त्यो सम्बन्ध कहिल्यै पनि व्यक्तिगत वा पारिवारिक रुपमा सीमित थिएन र छैन, हाम्रो सम्बन्ध सँधैभरि विचार केन्द्रित सहकर्मीको रुपमा कायम छ ।” उहाँले आफ्नो सम्पूर्ण परिवार लोकतान्त्रिक गणतन्त्र प्राप्तिको लागि सम्पूर्ण आन्दोलनमा होमिएको तर परिवारले त्यसको लाभ वा भुक्तानी नमागेको र नमाग्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “अध्यक्षका रुपमा नाम मनोनयन दिनदेखि नै मैँलै मेरो दलीय आबद्धता र संलग्नता त्याग गरेको छु, राष्ट्रियसभाको सदस्यको रुपमा मेरो चयन गैरदलीय आधारमा नै भएको हो, तथापि म नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०मा क्रियाशील थिएँ ।” उहाँले अबको राजनीतिक दर्शन र विश्वास समृद्ध नेपाल निर्माणका लागि, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुुदृढीकरण र समानुपातिक समावेशी प्रणाीलीलाई संस्थागत गर्नमा केन्द्रित हुने बताउनुभयो ।

अध्यक्ष दाहालले राष्ट्रियसभालाई परिपक्व र विज्ञहरुको सदन बनाउँदै यसको गरिमा र मर्यादालाई उच्च राख्न आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो ।

Skip This