अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दैजी छेला औद्योगिक क्षेत्र उच्च प्राथमिकतामा राखेर सञ्चालन गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता

दैजी छेला औद्योगिक क्षेत्र उच्च प्राथमिकतामा राखेर सञ्चालन गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता


काठमाडौँ– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

हिजो कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको समापन समारोहमा  मन्त्री भण्डारीले दोधारा चादँनी सुक्खा बन्दरगाह र दैजी छेला औद्योगिक क्षेत्र निर्माणमा आफू लागिपर्ने बताउनुभयो ।  “महाकाली करिडोरलाई त्रिदेशीय नाकाका रुपमा विकास गर्ने सरकारको योजना छ,” उहाँले भन्नुभयो,“कञ्चनपुरलाई आद्यौगिक केन्द्रका रुपमा विकास गर्न म दत्तचित्त भएर लाग्नेछु ।”

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सुरु भएका महाकाली करिडोर, दैजी छेला औद्योगिक क्षेत्र, सुक्खा बन्दरगाह लगायतका आयोजनाहरु थला परेको भन्दै मन्त्री भण्डारीले एमाले समेत रहेको सरकारले उच्च प्राथमिकतामा राखेर सञ्चालन गर्ने बताउनुभयो । 

सुदूरपश्चिमको विकासका संवाहक जडीबुटी र खानीजन्य उद्योग प्रवर्द्धनमा  उद्योग मन्त्रालयका तर्फबाट भरमग्दुर प्रयत्न हुने तथा उच्चस्तरीय अध्ययन टोली  परिचालन गरिने उहाँले बताउनुभयो । 

मुलुकमा लगानीमैत्री वातावरण बनाउन हरसम्भव प्रयास भइरहेको बताउँदै उहाँले सरकार लगानी सम्मेलनको तयारीमा लागेको जानकारी दिनुभयो । “निजी क्षेत्रसित निकट रहेर सरकार अघि बढ्न चाहन्छ,” उहाँले भन्नुभयो–“त्यसका लागि थुप्रै ऐन/कानुन संशोधन गर्नुपर्नेछ, लगानीमैत्री वातावरण बनाउन  बाधक ऐनकानुन संशोधन गरिने छन् ।”

देश आर्थिक संकटमा रहेको बताउँदै उहाँले यो चुनौतीलाई सम्भावनामा बदलिने बताखउनुभयो ।