काठमाडौं-लेखक सागर बाबु (बुद्धि सागर लामिछाने)को ‘जिन्दगीको रित’ नामक गीत-गजल संग्रह बजारमा आएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सहसचिव समेत रहेका उहाँले गीत-गजल संग्रह २०७९ मा प्रकाशन गर्दै बजारमा ल्याएका थिए।
उक्त संग्रहमा लेखक बाबुले राष्ट्र प्रेम, सामाजिक सचेतना र प्रेमसँग सम्बन्धित गीत र गजल समेटेका छन्। साथै आफू प्रशासन जस्तो कठोर पदमा भइरहँदा पनि उहाँले संग्रहमा भावनात्मक कोमलतालाई सृजनात्मक रूपमा दर्साएका छन्।
लामिछानेको पहिलो प्रकाशित कृतिको रूपमा रहेको यस संग्रहका केही राष्ट्रिय भावनाका गीतहरू नेपाली साङ्गीतिक क्षेत्रमा स्थापित कलाकारहरूद्धारा स्वरबद्ध र सङ्गीतबद्ध भएर श्रोता माझ पनि आइसकेका छन्। ‘जिन्दगीको रित’ नामक गीत र गजलसंग्रहभित्र जम्मा ६० वटा रचना सङ्कलित छन् । यीमध्ये ४३ वटा गीत र १७ वटा गजल छन् ।
४३ वटा गीतमध्ये पनि प्रौढ गीत ३८ वटा र बालगीत ५ वटा छन्। प्रत्येक गीतमा विषयवस्तु अनुरूप शीर्षक दिइएका छन्। संग्रहमा भएका गीतहरू लोकलय, जसमा भ्याउरे र सवाई लय उनिएका छन्। यी गीत र गजल विषयवस्तुका दृष्टिले विविधतामय छन्।
‘लठ्ठ परेँ’, ‘घर कहाँ हो नानीरु’, ‘देशरक्षक’, ‘सबैलाई पिर्छ’, ‘समाज बने देश बन्छ’ र ‘हे युवा ! उठ न अब ता’ लगायतका गीतहरू र केही गजलहरू राष्ट्रिय भावन वा देशप्रेमको भावनाले ओतप्रोत छन्। यस्ता गीत र गजलमा नेपालीहरूले आफ्नो राष्ट्रको स्वाभिमान र अक्षुण्णताका निम्ति पुस्तौंदेखि प्रदर्शन गर्दै आएको वीरता, देशभक्ति र उत्सर्गको गौरवपूर्ण इतिहास, नेपालको सुन्दर प्रकृति तथा नेपाली समाज र जातिका विविधतापूर्ण र इन्द्रेणीमय संस्कृतिको सजीव चित्र कलात्मक ढङ्गले उतारिएको छ।






प्रतिक्रिया