अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थमन्त्रीसँग कोरियाली राजदूतको शिष्टाचार भेट

अर्थमन्त्रीसँग कोरियाली राजदूतको शिष्टाचार भेट


काठमाडौँ-नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेट गर्नुभएको छ। भेटका क्रममा द्विपक्षीय हित र आपसी सहकार्यका सम्बन्धमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ।

अर्थ मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री पुनले नेपालको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा कोरियाले निरन्तर लगानी गर्दै आएको उल्लेख गर्नुहुँदै कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका०को लगानीमा हाल विभिन्न ११ वटा आयोजनामा लगानी भएको र ती आयोजनाको प्रगति सन्तोषजनक रहेको बताउनुभयो।

नेपालले आगामी वैशाखमा आयोजना गर्न लागेको लगानी सम्मेलनमा कोरियाली लगानीकर्ताको उल्लेख्य सहभागिताका लागि पहल गरिदिन पनि अर्थमन्त्री पुनले राजदूत थेयङलाई आग्रह गर्नुभयो। अन्तर्राष्ट्रिय लगानी आकर्षित नगरी मुलुकको विकास सम्भव नहुनेमा नेपाल स्पष्ट रहेकाले त्यसको वातावरण बनाउनका लागि आवश्यक नीतिगत र कानुनी अड्चन हटाउन सरकार लागिरहेको पनि उहाँको भनाइ छ। नेपालको कृषि, ऊर्जा, पर्यटन र प्रविधिको क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेको चर्चा गर्नुहुँदै अर्थमन्त्री पुनले दक्षिण कोरियाको विकास मोडलबाट नेपालले धेरै कुरा सिक्न बाँकी रहेको बताउनुभयो।

यसअघिका विकास साझेदारी कार्यक्रम र रोगजारी प्रणाली ९इपिएस० लाई निरन्तरता गर्दै लगिने राजदूत थेयङले बताउनुभयो। नेपाल–कोरिया दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पुग्न लागेको अवसरमा कोरियाले नेपालमा थप लगानी गर्न चाहेको जानकारी पनि उहाँले दिनुभयो।

कोइकाले नेपाललाई विगत १५ वर्षदेखि नै प्राथमिकतामा राखेको तथा इपिएस सम्झौता भएका १६ देशमध्ये नेपाल सबैभन्दा अगाडि रहेको उल्लेख गर्नुहुँदै राजदूत थेयङले विकास साझेदारीका लागि नेपालको कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई कोरियाले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। हाल गण्डकीमा सञ्चालित ‘कोरियन भोकेसनल सेन्टर’लाई सातवटा प्रदेशमा विस्तार गर्ने नीति रहेको पनि उहाँले जानकारी गराउनुभयो।

नेपालले आगामी सन् २०२६ भित्र अतिकम विकसित मुलुकबाट स्तरोन्नति गरिसक्नुपर्ने भएकाले त्यसलाई सघाउ पुग्ने गरी कोरियाले विकास साझेदारीको आयातन बढाउन चाहेको राजदूत थेयङको भनाइ छ। आगामी मे महिनाबाट कोरियन कम्पनी हुण्डाईले नेपालमै गाडी उत्पादनको काम थालेर वार्षिक चार हजार पाँच सय गाडी उत्पादन गर्ने लक्ष्य राखिएकामा त्यसका लागि केही कानुनी र प्रक्रियागत जटिलता देखिएकाले समाधान गरिदिन राजदूत थेयङले आग्रह गर्नुभयो।

कोरियाले नेपालमा धेरै विदेशी लगानी भित्रियोस् र रोजगारीका अवसर सृजना होओस् भन्ने चाहना राखेकाले लगानी सम्मेलन सफल पार्न सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो। “धेरै देशले नेपालमा लगानीको चाहना राखेको मैले पाएको छु। धेरै देशबाट ठूलो सङ्ख्यामा वैदेशिक लगानी भित्रियोस् र नेपालको समृद्धिमा योगदान गरोस्। हामी अन्तर्राष्ट्रिय समुदायलाई त्यसका लागि सहजीकरण गर्छौं”, राजदूत थेयङले भन्नुभयो।

नेपालले दोहोरो कर मुक्ति सम्झौता र लगानी संरक्षण ‘ग्यारेन्टी’ गर्नुपर्नेमा उहाँको चासो थियो। राजदूत थेयङले रोजगार प्रणालीअन्तर्गत कोरियामा काम गरेर फर्किएका नेपालीका लागि व्यवसायमा सहयोग गर्ने नीति रहेको जानकारी दिनुभयो।



Skip This