अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुलाउन सुरक्षा योजनाबारे छलफल

ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुलाउन सुरक्षा योजनाबारे छलफल


काठमाडौं-मुलुकको सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्गलाई २४सै घण्टा खुलाउनका लागि आवश्यक सुरक्षा योजनाबारे छलफल भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आज ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारीबारे सम्बन्धित निकाय तथा व्यवसायीसँग छलफल गरिएको हो। उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउन निर्देशन दिएसँगै काठमाडौँका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले छलफल सुरु गर्नुभएको हो। ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुला राख्नका लागि जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनाइसकेको जनाइएको छ।

छलफलमा बोल्दै काठमाडौँका प्रमुख जिल्ला अधिकारी बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारी भइरहेको बताउनुभयो। ‘सुरक्षाको पूर्ण प्रत्याभूति दिने र बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप एकीकृत योजना बनाएर कार्यान्वयन गर्छौँ,’ उहाँले भन्नुभयो।

उहाँले व्यापार व्यवसाय सञ्चालनका लागि व्यवसायी र स्थानीयबासी सम्मिलित बजार व्यवस्थापन समिति बनाउने वा भएका समितिलाई जिम्मेवारी दिने बताउनुभयो । व्यवसायीले वस्तु तथा सेवामा दिउँसो र रातिको मूल्य फरक बनाउन नपाउने उहाँको भनाइ थियो।

प्रमुख जिल्ला अधिकारी बस्नेतले अहिलेको भन्दा आपराधिक क्रियाकलाप बढ्नसक्ने अनुमानका आधारमा सोहीअनुसारको सुरक्षा प्रणाली विकास गरिने उल्लेख गर्नुभयो। व्यवसायीले आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन् हुनेगरी ध्वनि प्रदूषण गर्न नपाउने उहाँको भनाइ थियो।

छलफलमा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले लामो समयदेखि ठमेलमा २४ सै घण्टा व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग परिषद्ले राख्दै आएको बताउनुभयो। ‘परिषद्ले ठमेललाई कसरी व्यवस्थित र अपराधमुक्त बनाएर सञ्चालन गर्न सकिन्छ भन्ने बारेमा पटकपटक सम्बन्धित निकायसँग छलफल गर्दै आएको छ’ उहाँले भन्नुभयो।

दरबारमार्ग विकास बोर्डका कोषाध्यक्ष सञ्जय अधिकारीले दरबार मार्गलाई २४ सै घण्टा खुला गर्न हरेक हिसावले उपयुक्त भएको बताउनुभयो । दरबार मार्गलाई २४ सै घण्टा खुला गरी ‘नाइट वाक’ क्षेत्र बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो।

Skip This