अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरको चखेवामा महोत्सव

मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरको चखेवामा महोत्सव


भोजपुर-मुन्दुम पदमार्गसहित कृषि, पर्यटन र संस्कृतिको प्रवर्द्धन गर्न जिल्लाको टेम्केमैयुङ गाउँपालिका-४ स्थित चखेवा भञ्ज्याङमा महोत्सव हुने भएको छ। आगामी २०८१ वैशाख १ देखि ३ गतेसम्म महोत्सव हुने भएको हो।

महोत्सवमा स्थानीय कृषि उत्पादन, पर्यटकीय क्षेत्रको प्रचार तथा कलासंस्कृतिको प्रवद्र्धन गरिने आयोजक संस्था चखेवा बजार तथा सहरीकरण व्यवस्थापन समितिका अध्यक्ष आइकुमार राईले बताउनुभयो। टेम्केमैयुङ गाउँपालिकाको प्रायोजनमा महोत्सव हुन लागेको हो। महोत्सवमा कृषि उत्पादन र उद्यमसँग सम्बन्धित स्टल, हस्तकलाबाट निर्मित राडीपाखीहरुको स्टल, स्थानीय परिकारको स्टल राखिने आयोजकले जनाएको छ। 

सरकारले देशभित्र घुम्नैपर्ने एक सय पर्यटकीय गन्तव्यको सूचीमा राखेको मुन्दुम पदमार्गमा पर्ने चखेवा भञ्ज्याङ भोजपुर र खोटाङको सिमाना हो । गाउँपालिकाले सन् २०२५ लाई मुन्दुम पर्यटकीय वर्षका रुपमा मनाउने तयारी गरिरहेको छ। त्यसैका लागि अग्रिम प्रचारस्वरुप यो महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ। 

महोत्सवमा मुन्दुम पदमार्गका बारेमा वृत्तचित्र प्रदर्शनी गरिनेछ। गाउँपालिकाको रु १० लाख र आयोजक संस्थाको रु तीन लाख गरी १३ लाखको लागतमा महोत्सव हुन लागेको हो। महोत्सव अवलोकनका लागि ५० हजार मान्छे ल्याउने आयोजकको लक्ष्य छ। 

महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहनेछ।साहित्यिक कार्यक्रम पनि रहने आयोजकको भनाइ छ। टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले पर्यटकीय सम्भावना बोकेको क्षेत्रको विकास र प्रचारका लागि प्रत्येक वर्ष यस्ता महोत्सव आयोजना गरिने बताउनुभयो। 

Skip This