अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजदेखि एसइई सुरु, ५ लाख बढी विद्यार्थी परीक्षामा सहभागी हुँदै

आजदेखि एसइई सुरु, ५ लाख बढी विद्यार्थी परीक्षामा सहभागी हुँदै


काठमाडौँ- आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा सुरु हुँदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षा बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुनेछ ।

पहिलो दिन आज अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । एसइईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अनुसार सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कूल ५ लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुँदै छन् ।

कूल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना परीक्षार्थी प्राविधिक धारतर्फ रहेको बोर्डले जानकारी दिएको छ । त्यसैगरी परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुँदै छन् ।

त्यस्तै परीक्षाका लागि दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ जसमा सबैभन्दा कम मनाङ, मुस्ताङमा एक-एक केन्द्र तथा सबैभन्दा बढी काठमाडौँमा १२७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

परीक्षा सञ्चालनका लागि देशभरबाट ७७ हजार बढी जनशक्ति खटिएका छन् । ७७ हजार ४८५ जना जनशक्ति परिचालन भएको एसईई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताउनुभयो ।