अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विपन्न महिलाको ऋण मिनाहा गर्ने गरी बजेट बन्दैछ: मन्त्री चौधरी

विपन्न महिलाको ऋण मिनाहा गर्ने गरी बजेट बन्दैछ: मन्त्री चौधरी


काठमाडौं-महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विपन्न महिलाहरुको मिटरब्याज लगायतका ऋणहरु मिनाहा गरिदिने घोषणा गर्नुभएको छ।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले सो कुरा बताउनु भएको हो।

वडा स्तरबाट विपन्न महिलाहरुको पहिचान गरी उनीहरुको मिटरब्याज लगायतका ऋणहरु मिनाहा हुनेगरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउन लागेको बताउनुभयो।

पछाडि परेका महिलाहरुलाई अघि बढाउन पनि आफूले मन्त्रालयको तर्फबाट सो कार्यक्रम ल्याउन लागेको मन्त्री चौधरीको भनाइ थियो। उहाँले महिला मन्त्रालयमा बजेटको अभावका कारण सोचेअनुसार काम गर्नसक्ने स्थिति नभएको पनि स्मरण गराउनुभयो।

मन्त्री चौधरीले जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगेटको महिला मन्त्रालयको लागि बजेट बढाउने कुरामा प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक रहेको पनि बताउनुभयो।

उहाँले भन्नुभयो, ‘अति विपन्न महिलाहरुको लागि चाहिं वडास्तरबाटै मिटरब्याजी लगायतका कुराहरु आउँछन्। ती ऋणहरु मिनाहा गरिदिने कुराहरु आउँछन्। राज्यले नै त्यस्ता कुराहरु ग¥यो भने महिलाहरु अगाडि बढ्न सक्छन् भनेर मन्त्रालयबाट त्यो कार्यक्रम ल्याउँदैछौं भन्ने कुरा जानकारी गराउन चाहन्छु।’

मन्त्री चौधरीले महिलाहरुको सशक्तिकरणका लागि बजेट बढाउनका लागि सम्बन्धित मन्त्रालयहरुबीच छलफल भइरहेको पनि बताउनु भयो।