वीरगञ्ज-घरायसी विवादका क्रममा आफ्नै श्रीमतीमाथि धारिलो हतियार छुरा प्रहार गरी फरार भएका एक युवकलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बारा जिल्लाको फेटा गाउँपालिका–७ जोतपुर गमरिया निवासी २८ वर्षीय अलियास अन्सारी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार गत मंगलबार बिहान करिब १०ः३० बजे जितपुरसिमरा उपमहानगरपालिका–२० कञ्चनपुरस्थित माइतीघर नजिकैको आँप बगैँचामा बोलाएर कुराकानी गर्ने क्रममा अन्सारीले आफ्नी २५ वर्षीया श्रीमती गुल्सान अन्सारीमाथि छुरा प्रहार गरेका थिए।
घरायसी विवादका कारण भएको भनिएको उक्त घटनामा अन्सारीले श्रीमतीको पेटलगायत शरीरका विभिन्न भागमा छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट गम्भीर घाइते भएकी गुल्सानलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको थियो।
नारायणी अस्पतालबाट थप उपचारका लागि वीरगञ्ज हेल्थकेयर अस्पताल पुर्याइएकी उनको शल्यक्रिया गरिएको र हाल सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि फरार रहेका अन्सारीलाई बिहीबार दिउँसो करिब १ बजे अस्थायी प्रहरी पोस्ट इनर्वासिराबाट खटिएको टोलीले वीरगञ्ज बसपार्कस्थित एक होटलबाट पक्राउ गरेको हो।
पक्राउ परेका अन्सारीमाथि इलाका प्रहरी कार्यालय सिमरा, बाराबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता मिनबहादुर घलेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।



प्रतिक्रिया