धनकुटा-खानेपानी मन्त्री राजेन्द्र राईले धनकुटामा दुई वटा वडा कार्यालय भवन शिलान्यास र एउटा विद्यालय भवन उद्घाटन गर्नुभएको छ।
विभिन्न कार्यक्रममा सहभागी हुन गृहजिल्ला धनकुटा आइपुगेका मन्त्री राईले पाख्रीवास नगरपालिका वडा-३ र वडा-७ को वडा कार्यालय भवन शिलान्यास र सहिदभूमि गाउँपालिका-४ स्थित कन्यादेवी माध्यमिक विद्यालयको भवन उद्घाटन गर्नुभएको हो।

पाख्रीवास वडा-३ ले कालीमाटी र वडा-७ ले होक्से टोलमा वडा कार्यालय भवन निर्माण गर्न लागेको हो । शुक्रबार होक्से टोलस्थित भवन निर्माण स्थलमा इँटा राखेर मन्त्री राईले ७ नं. वडा कार्यालय भवन शिलान्यास गर्नुभयो । रु ७५ लाखको लागतमा बनाउन लागिएको सो भवन आगामी असार मसान्तभित्रमा निर्माण सम्पन्न गर्नेगरी भोजपुरको मिडहिल इन्फास्टक्चर प्रालिसँग सम्झौता भएको वडाध्यक्ष देवेन्द्र तामाङले जानकारी दिनुभो । सो भवन निर्माण गर्न वडा सदस्य चन्द्रबहादुर तामाङले दुई रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभयो।
वडा ७ को वडा कार्यालय भवन शिलान्यास सकेर वडा ३ पुगेका मन्त्री राईले त्यहाँ पनि वडा कार्यालय भवन शिलान्यास गर्नुभयो। स्थानीय हर्कबहादुर राईले निःशुल्क प्रदान गरेको दुई रोपनी क्षेत्रफलको जग्गामा ४४ लाख खर्च गरेर भवन बनाउन लागिएको हो । आगामी असार १० गतेभित्र काम सक्ने गरी काठमाडौंको एमकेए ग्रुप प्रालिले भवन निर्माणको जिम्मा लिएको वडाध्यक्ष सरोज राईले जानकारी दिनुभयो।

यसअघि मन्त्री राईले बिहीबार सहिदभूमिको कन्यादेवी माध्यमिक विद्यालयको नवनिर्मित छ कोठे पक्की भवन उद्घाटन गर्नुभएको थियो। विद्यालयमा आयोजित कार्यक्रममा उहाँले शिलालेखको पर्दा उघारेर भवन उद्घाटन गर्नुभयो। रु ६७ लाखको लागतमा भवन बनाइएको हो । सो विद्यालयमा २६८ जना विद्यार्थी अध्ययनरत छन् ।
गाउँ-गाउँमा विकासले गति लिदैछः मन्त्री राई
पाख्रीवास–३ को वडा कार्यालय भवन शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री राईले अहिले गाउँ–गाउँमा विकासले गति लिदै गएको बताउनु भयो । तीब्र गतिमा विकास गर्न सरकार लागिपरेको भन्दै मन्त्री राईले विकासलाई गति दिन सरकारमात्र नभएर जनताहरू पनि लागिपर्नुपर्ने धारणा राख्नभयो।

पाख्रीवासको खानेपानी समस्या हल गर्न भुल्के खानेपानी आयोजना सफल पार्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री राईले त्यसका लागि लागिपर्न जनप्रतिनिधिसहित सबैलाई आग्रह गर्नुभयो। आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उहाँको भनाई छ । खानेपानीको समस्या क्रमश हल गर्दै जाने भन्दै उहाँले धनकुटामा खानेपानीमा मात्र नभएर सडक स्तरोन्नति लगायत अन्य विकास निर्माणका काममा पनि पहल गर्ने बताउनुभयो।




प्रतिक्रिया