अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थमन्त्रीद्वारा ४० बढी देशका राजदूत र नियोग प्रमुखहरूसँग भर्चुअल बैठक

अर्थमन्त्रीद्वारा ४० बढी देशका राजदूत र नियोग प्रमुखहरूसँग भर्चुअल बैठक


काठमाडौँ-अर्थमन्त्री वर्षमान पुन अनन्तले विदेशस्थित ४० बढी नेपाली राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग भर्चुअल बैठक गर्नुभएको छ।

बैठकमा मुख्यसचिव बैकुण्ठ अर्याल, परराष्ट्र सचिव सेवा लम्साल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिईओ० सुशील भट्टलगायत सहभागी हुनुहुन्थ्यो। मन्त्री पुनले राजदूत र नियोग प्रमुखहरूलाई अबको एक महिना लगानी सम्मेलन केन्द्रित भएर काम गर्न प्रधानमन्त्रीका तर्फबाट निर्देशन दिनुभयो।‍‍‍‍

‘लगानी सम्मेलन राष्ट्रको इज्जत, प्रतिष्ठा, गौरवको विषयसँग जोडिएको छ’, अर्थमन्त्री पुनले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्रीज्यूकै तर्फबाट म यहाँहरुलाई आग्रह गर्छु कि अबको एक महिना सबै काम छाडेर यसैमा लाग्नुस् ।’

मन्त्री पुनले विदेशी विकास साझेदार, ठुला लगानीकर्ता, सम्भावित लगानीकर्ता, कार्यक्रमका वक्ता र उच्च पदस्थ सरकारी व्यक्तित्वहरूलाई यसअघि नै निम्ता पठाइसकिएको स्मरण गर्दै सम्मेलनमा आउन निश्चित भएकाहरूको सूची तयार पारेर पठाउन पनि भन्नुभयो ।

लगानीमैत्री वातावरण बनाउन सरकारले नीतिगत, प्रक्रियागत र कानुनी सुधारको काम अघि बढाएको उहाँले बताउनु भयो। अर्थमन्त्री पुनले भन्नुभयो, ‘१२ वटा कानुन र कतिपय द्विपक्षीय समझदारीहरू गर्ने कुरामा पनि छलफल चलिरहेको छ। लगानीमैत्री कानुन बनाउन भइहरेका प्रयासबारे लगानीकर्ता र सरकारी एजेन्सीहरूलाई भन्नुस् ।’

भारत, चीन, कोरिया र खाडीसहित विभिन्न मुलुकहरूमा भइरहेका पूर्व तयारीका कामलाई थप तीव्रता दिन मन्त्री पुनले निर्देशन दिनुभयो। बैठकमा संयुक्त राज्य बेलायत, अस्ट्रेलिया, जर्मनी, बङ्गलादेश, भारत, ओमान, दक्षिण कोरिया र मलेसियाका राजदूत तथा नियोग प्रमुख सहभागी थिए ।