अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रानाथारु समुदायको व्यावसायिक उत्थान जरुरी छ: मन्त्री भण्डारी

रानाथारु समुदायको व्यावसायिक उत्थान जरुरी छ: मन्त्री भण्डारी


काठमाडौँ-उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कैलाली र कञ्चनपुरका रानाथारु समुदायको उत्थानका लागि व्यावसायिक योजना अघि सार्नुपर्ने बताउनुभएको छ।

नेपाल रानाथारु युवा समाजले पहिलो पटक आज काठमाडौँमा आयोजना गरेको होली मिलन तथा खखडेहरा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले कैलाली र कञ्चनपुरमा मात्र बसोबास रहेको रानाथारु समुदायको आर्थिक समृद्धिका लागि आगामी बजेटमा विशेष व्यावसायिक कार्यक्रम ल्याउन आफुले पहल गर्ने बताउनुभयो। कैलाली र कञ्चनपुरका बस्तीको विकास तथा सुदूरपश्चिमको पहिचानमा रानाथारु समुदायको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै उहाँले उद्योग मन्त्रालयबाट सो समुदायको आर्थिक उत्थान हुने कार्यक्रम बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो।

मन्त्री भण्डारीले लिखित रुपमै उत्पादनमुखी कार्यक्रम ल्याउन रानाथारु युवा समाजलाई आग्रह गर्दै व्यावसायिकरुपमा पहिचान झल्काउने गरी नयाँ बजेटमार्फत कार्यक्रम ल्याउने बताउनुभयो। विभिन्न पेशा तथा व्यवसायमा पहिचान बनाएका रानाथारु समुदायको पहिचान सिङ्गो देशले देख्ने गरी काठमाडौँमा होली मिलन कार्यक्रम आयोजना गरेकामा उहाँले सो कार्यको प्रशंसा गर्नुभयो।

कार्यक्रममा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, पूर्वमन्त्री नारदमुनी राना, संविधानसभा सदस्य कृपाराम रानालगायतले कैलाली र कञ्चनपुरमा मात्र बसोबास रहेको रानाथारु समुदायको उत्थानका लागि गर्नुपर्ने विषयमा चर्चा गर्नुभएको थियो। होली मिलन कार्यक्रममा सहभागी हुन कैलाली र कञ्चनपुरबाट कलाकारसहितको छुट्टाछुट्टै टोली यहाँ आएका छन्।

Skip This