अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लक्ष्मी सनराइज बैंकद्वारा लैङ्गिक समानता र महिला सशक्तिकरण कार्यक्रम

लक्ष्मी सनराइज बैंकद्वारा लैङ्गिक समानता र महिला सशक्तिकरण कार्यक्रम


काठमाडौं-लक्ष्मी सनराइज बैंकले समावेशीता, समानता र सशक्तिकरणलाई जोड दिँदै ‘स्पार्क २४: इम्पावरिङ वुमिन इन लिडरसिप-इन्स्पायर इन्क्ल्युजन’ कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापा, अन्तर्राष्ट्रिय मुद्रा कोषका आवासीय प्रतिनिधि टेरेसा दबान सान्चेज, एफ वान सफ्ट ग्रुपका पियुष पौड्याल तथा भायनेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठक लगायतका वक्ताहरुले महिला नेतृत्व र सशक्तिकरणको बारेमा आफ्ना धारणा राख्नुभएको थियो।

कार्यक्रममा लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले बैंकका महिला कर्मचारीहरूको व्यवसायिक विकास तथा मानसिक एवं शारीरिक सुस्वास्थ्य सुनिश्चित गर्न बैंक प्रतिबद्ध रहेको बताउनुभयो।

यस पहलमा वृहत मेन्टरसिप कार्यक्रम, लक्षित नेतृत्व प्रशिक्षण, गर्भावस्थाको समयमा लचिलो कार्य व्यवस्थाहरू र महिला कर्मचारी भएका कार्यालयहरूमा स्याहार केन्द्र तथा स्तनपान कक्षहरूको व्यवस्था लगायतका योजनाहरू समावेश छन्।

उहाँले महिलाहरूलाई व्यक्तिगत र व्यावसायिक रूपमा सक्षम बनाउने वातावरण निर्माण गर्न बैंक प्रयत्नशील रहेको उल्लेख गर्दै उत्पीडन र भेदभावका मामलामा शून्य सहनशीलता कायम गर्ने नीति मार्फत सबैका लागि मनोवैज्ञानिक रूपमा सुरक्षित र सम्मानजनक कार्यस्थल बनाउने प्रतिबद्धता जाहेर गर्नुभयो।

साथै उहाँले बैंकमा लैङ्गिक प्रतिनिधित्त्व वृद्धि गर्नुपर्ने आवश्यकतालाई स्वीकार गर्दै सक्षम र योग्य महिला जनशक्तिको व्यावसायिक वृद्धि र उन्नतिलाई प्रेरित गर्ने उद्देश्यले विभिन्न पहलहरू कार्यान्वयन गर्न जारी राख्दै भविष्यमा कर्मचारीहरुको निम्ति संस्थाले प्रदान गर्नुपर्ने हेरचाह र उपयुक्त समयको व्यवस्थापनमा तयार रहने बताउनु भयो।

पछिल्लो तथ्यांक अनुसार नेपाली बैंकहरूको समग्र महिला कर्मचारी टर्नओभर रेसियो ७ प्रतिशत रहेकोमा लक्ष्मी सनराइज बैंकको १ प्रतिशतभन्दा कम हुनुले समावेशी र सहयोगी कार्यस्थलको वातावरण सिर्जना गर्ने बैंकको प्रयासको सकारात्मक परिणामहरू झल्काउने उहाँको भनाई छ।

हाल बैंकको ३६ प्रतिशत जनशक्ति महिला छन् भने महानगरहरूमा सो अनुपात ४५ प्रतिशत रहेको छ। काठमाडौं उपत्यका भित्रका बैंकका करिब ४० प्रतिशत शाखामा महिला शाखा प्रबन्धकहरू रहेका छन् भने बैंकको २५ प्रतिशत विभागको नेतृत्व महिलाहरूले गरिरहेका छन्।

सो कार्यक्रममा लैगिंक समावेशीता, समानता र सशक्तिकरण झल्काउन सबै सहभागीहरू मिली ‘आधुनिक मिथिला पेन्टिङ’ पनि बनाइएको थियो।

Skip This