अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वाधारमा चिनियाँ लगानीका लागि उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

पूर्वाधारमा चिनियाँ लगानीका लागि उपप्रधानमन्त्री श्रेष्ठको आग्रह


चीन-उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा जलविद्युत्, कृषि तथा पूर्वाधार क्षेत्रमा उच्च सम्भावना रहेको जनाउँदै ती क्षेत्रमा लगानीका लागि चिनियाँ पक्षसँग आग्रह गर्नुभएको छ।

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठले आज सिचुवान प्रान्तीय जनसरकारका गभर्नर हुवाङ क्वाङसँगको भेटमा सिचुवानका लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहित गर्न आग्रह गर्नुभयो। नेपालमा विदेशी लगानीलाई प्रोत्साहित गर्न कानुनी, संरचनात्मक तथा प्रक्रियागत उल्झन हटाइएको जानकारी दिँदै उहाँले विदेशी लगानीलाई खुला हृदयले स्वागत गरिने बताउनुभयो। 

नेपालको विकास प्रक्रियालाई तीव्र गतिमा अघि बढाउन के गर्न सकिन्छ भनेर आफू चीन भ्रमण आएको उल्लेख गर्दै उहाँले विकासलाई तीव्रता दिन छिमेकीको सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो। चीनसँगको व्यापार घाटा न्यूनीकरणका लागि सहयोग गर्न चिनियाँ पक्षसँग आग्रह गर्नुभयो। नेपालले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा ठूलो मात्रामा सहभागिता जनाउन आग्रह गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सरकार र निजी क्षेत्रका तर्फबाट सहभागिताका लागि अनुरोध गर्नुभयो। उहाँले नेपाल र चीनबाट भएका उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाएको बताउनुभयो। नेपालले चीनसँगको सम्बन्धलाई अत्यन्त महत्व दिएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीनबीच समस्यारहित सम्बन्ध रहेको बताउनुभयो। 

चीनले नेपालको विकास प्रक्रियामा सदियौँदेखि सहयोग गर्दै आइरहेको स्मरण गर्दै उहाँले चीनलाई नेपालले सङ्कटको साथीका रूपमा लिँदै आएको बताउनुभयो। परराष्ट्रमन्त्री श्रेष्ठले चीनलाई अत्यन्त असल छिमेकीका रूपमा लिइएको र नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको दोहो¥याउनुभयो। राजनीतिक परिवर्तपछि आर्थिक विकासलाई मुख्य कार्यभार बनाएर अघि बढिरहेको तथा सरकार आर्थिक विकासमा केन्द्रित भएको उल्लेख गर्दै उहाँले समृद्धिको यात्रामा छिमेकी राष्ट्र चीनको विशेष सहयोगको अपेक्षा गरिएको बताउनुभयो। 

उपप्रधानमन्त्री दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा पारस्परिक लाभ हासिल हुने गरी सहयोगात्मक सम्बन्धलाई अभिवृद्धि आफूले चीन भ्रमण गरेको उल्लेख गर्नुभयो। उहाँले दुई देशबीचको सम्बन्धलाई उच्चस्तरीय भ्रमणले थप प्रगाढ बनाएको बताउनुभयो। उहाँले आफ्नो चीन भ्रमणले नेपाल र सिचुवान सरकारको सहयोगात्मक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो। 

सिचुवान प्रान्त सरकारका गभर्नर हुवाङले द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन उच्चस्तरीय भ्रमण र भेटवार्ताले महत्वपूर्ण सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपालको विकासमा सिचुवान साझेदारी गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो। प्रतिनिधिमण्डलस्तरमा भएको सो भेटमा नेपालका तर्फबाट चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयमा सहसचिव कृष्णप्रसाद ढकाल, छेन्दुस्थित नेपाली महावाणिज्यदूत सुरेश राउतलगायत सहभागी हुनुहुन्थ्यो । भेटमा चीनका तर्फबाट सिचुवान प्रान्तीय जनसरकारका उपगभर्नर पुबु दुनझाउ, महासचिव चेन क्विङ्गलगायत सिचुवान प्रान्तीय जनसरकारका अधिकारीहरू सहभागी हुनुहुन्थ्यो। 

Skip This