अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाठ्यपुस्तक सदरमुकाममा थन्किएपछि पठनपाठन प्रभावित

पाठ्यपुस्तक सदरमुकाममा थन्किएपछि पठनपाठन प्रभावित


हुम्ला-जिल्लाको उत्तरी क्षेत्रका विद्यालयको पाठ्यपुस्तक सदरमुकाम सिमकोटमा थन्किएपछि विद्यार्थीको पठनपाठनमा प्रभावित भएको छ । शैक्षिकसत्र गत फागुन २ गतेदेखि सुरु भए पनि पाठ्यपुस्तक नहुँदा पठनपाठन प्रभावित भएको हो।

एक सातादेखि जिल्लामा परेको भारी हिमपातका कारण सदरमुकाम सिमकोटमा पाठ्यपुस्तक थन्किएको भन्दै गत फागुन २३ गते नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालयको ध्यानार्कषण गराएको थियो।

उपाध्यक्ष लामाका अनुसार कर्णाली करिडोरअन्तर्गतको सिमकोट–हिल्सा सडक खण्डमा हिमपात परेका आवागमन अवरुद्ध हुँदा पुस्तक सम्बन्धित विद्यालयमा पु¥याउन नसकिएको हो। पाठ्यपुस्तक अभावका कारण नाम्खा गाउँपालिकाका-१ देखि ६ र सिमकोट गाउँपालिकाका-७ र ८ मा रहेका विद्यालयको पठनपाठन प्रभावित बनेको सिमकोट-८ का वडाध्यक्ष कमलबहादुर बुढाले बताउनुभयो।

सदरमुकाममा पुस्तक पुगे पनि बाटो अवरुद्धका कारण विद्यालयसम्म पु¥याउन नसकिएको सिमकोट-७ का वडाध्यक्ष बलवीर शाहीले बताउनुभयो। तत्काल सडकमा जमेको हिउँ पन्छाउनका लागि प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलसमक्ष अनुरोध गरिएको उहाँको भनाइ छ।

नाम्खा गाउँपालिकाका १७ विद्यालयका एक हजार १५१ र सिमकोटका गाउँपालिका आठ विद्यालयका एक हजार चार सय ८७ जना विद्यार्थीको पठनपाठन प्रभावित भएको छ।

छपाइमा ढिलाइ हुँदा समयमै पुगेन पाठ्यपुस्तक

जनक शिक्षा सामग्री केन्द्र सानोठिमी भक्तपुरले पुस्तक छपाइमा ढिलाइ गर्दा समयमै पाठ्यपुस्तक नपुगेको जिल्लामा ढुवानीको जिम्मा लिएको रोकाया पुस्तक पसलका प्रमुख धनजवा रोकायाले बताउनुभयो छ। उहाँका अनुसार सरकारले माध्यमिक तहसम्म निःशुल्क रुपमा दिँदै आएको पाठ्यपुस्तक केन्द्रले छपाइमा ढिलाइ गर्दा हुम्लामा आइनपुगेको हो। उहाँले हालसम्म १, २ र ५ कक्षाको पूरै थान पुस्तक छपाइमा ढिलाइ भएकाले विद्यार्थी पढाइबाट वञ्चित भएका बताउनुभयो।

आफूले जिम्मा लिएको नाम्खा गाउँपालिकाका विद्यालयको एक हजार दुई सय थानमध्ये नौ सय थान र सिमकोट गाउँपालिकाको तीन हजार थानमध्ये दुई हजार दुई सय थान मात्र जिल्लामा आइपुगेको ढुवानीकर्ता रोकायाले जानकारी दिनुभयो। जिल्लामा आइपुगेका पाठ्यपुस्तकमध्ये सदरमुकाममा रहेका विद्यालयले लगिसकेका छन् । सदरमुकाम आसपास र नाम्खा गाउँपालिकाका केही विद्यालयका लागि आफूले बुझे पनि हिमपातका कारण गोदाममा थन्किएर वितरण गर्न नसकिएको रोकायाको भनाइ छ।

हिमपातका कारण विद्यालयसम्म पाठ्यपुस्तक ढुवानीमा समस्या आएको भन्दै जनप्रतिनिधिले ध्यानार्कषण गराएकाले तत्काल हिउँ पन्छाउने तयारी भइरहेको जिल्ला अधिकारी विनोदकुमार पोखरेलले जानकारी दिनुभयो ।

–––