अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमाले भनेको देश बनाउने पार्टी होः अध्यक्ष ओली

नेकपा एमाले भनेको देश बनाउने पार्टी होः अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देश बनाउने पार्टी भएको बताउनुभएको छ।
बुधबार इलाम क्षेत्र-२ को चुलाचुलीमा नेकपा एमाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश बनाउनको लागि निर्णायक राष्ट्रिय शक्ति चाहिने बताउनुभयो। सधैँ गठबन्धनले देश नबन्ने ओलीको धारणा छ। त्यसैको लागि नेकपा एमालेले मिसन २०८४ भनेको उहाँले बताउनुभयो। ‘देश बनाउने हो भने मिसन २०८४ चाहिन्छ’, उहाँले भन्नुभयो ।

देश लगातार ओरालो लागेकोले त्यसलाई रोक्न नेकपा एमालेले नयाँ समीकरण बनाएको ओलीले बताउनुभयो। ‘पहिरो गएको गएकै भयो देशमा, तीन वर्षदेखि पहिरो गएकै गए भयो’, ओलीले भन्नुभयो।

सुदृढ राष्ट्रिय शक्ति निर्माणको लागि आजैबाट काम थाल्नु पर्नेमा उहाँले जोड दिनुभयो। देश बिग्रन दिनु नहुने बताउँदै ओलीले देश आफैँले बनाउनु पर्ने स्पष्ट पार्नुभयो।

उहाँले भावनामा बगेर देश नबन्ने बताउनुभयो। भावनामा अनेक थरी कुरा गरेर देश अघि नबढ्ने उहाँले स्पष्ट पार्नुभयो। विद्वेष र घृणा फैलाएर देश विकास गर्न नसकिने उहाँले बताउनुभयो। पहिचान विरोधी कोही नभएको बताउँदै आलीले पहिचानको नाममा सामाजिक सद्भाव नभड्काउन आग्रह गर्नुभयो।

अध्यक्ष ओलीले इलामा क्षेत्र नं २ बाट नेकपा एमालेले अगाडि सारेको र माओवादी केन्द्र, नेकपा र परिवार दलको समर्थन पाउनुभएका सुहाङ नेम्वाङको विजय निश्चित भएको दाबी गर्नुभयो । वैशाख १५ गते हुने इलामको उपचुनावमा सुहाङ जति योग्य उम्मेदवार कोही नभएको उहाँले दाबी गर्नुभयो। ओलीले इलामको जिम्मा सुहाङलाई दिन आग्रह गर्दै आफूले सुहाङको जिम्मा लिने बताउनुभयो।

अध्यक्ष ओलीले अबको दुनियाँमा कसैले कसैलाई ढाँट्न नसक्ने ओलीले बताउनुभयो। विगतमा कम्युनिष्टले बुढा बुढीलाई गोली हान्छन् भन्नेसम्मका भ्रम फैल्याएको बताउँदै कम्युनिष्टले त्यसलाई चिरेर सामाजिक हितको काम गर्दै अघि बढेको ओलीले प्रष्ट पार्नुभयो।

कम्युनिष्टले समृद्धि होइन गरीबी बाँड्छन् भन्ने भ्रम फिँजाउनेको जवाफ पनि एमालेले दिएको ओलीले बताउनुभयो। कम्युनिष्टले एक पटक मौका पायो भने देश विकासको काम कसरी गर्छ भन्ने कुरा प्रमाणित गरेर देखाइदिएको अध्यक्ष ओलीले उदाहरण दिनुभयो। एमालेको पालामा कैयौं पूर्वाधार निर्माण र सामाजिक विकासका काम भएका ओलीले बताउनुभयो।

पहिचानका कुरा गर्नेलाई जनजातिको छोरालाई कसरले संविधानसभा अध्यक्ष, सभामुख र मन्त्री बनायो ? भन्दै ओलीले प्रश्न गर्नुभयो । पहिलो पटक सेना चलाउने रक्षा मन्त्री र राष्ट्रपति महिला बनाउने पार्टी कुन हो ? भन्दै उहाँले प्रश्न गर्नुभयो । ‘नेकपा एमाले समानताको कुरा गर्दछ, सबैलाई समान अवसरको कुरा गर्दछ’, ओलीले भन्नुभयो।

अध्यक्ष ओलीले आजको प्रमुख समस्या गरीबी भएको बताउँदै गरीबी निवारण अबको प्रमुख काम भएको बताउनुभयो। आफ्नो पालामा ९ लाख मानिसलाई गरीबीको रेखामुनिबाट माथि उठाउने काम गरेको ओलीले स्मरण गराउनुभयो। ठेक्का लिएको काम समेत समयमा पुरा गर्न नसक्नेहरूले देश बनाउने कुरा गरेका भन्दै उहाँले उनीहरूबाट आशा गर्न नसकिने अध्यक्ष ओलीले बताउनुभयो।

अध्यक्ष ओलीले एमालेले देशलाई नयाँ युगमा प्रवेश गराएको बताउनुभयो। सुरुङ मार्ग र द्रुत मार्ग निर्माण गरेर एमालेले देशलाई नयाँ युग तर्फ लगेको उहाँले दाबी गर्नुभयो। नेकपा एमाले काम गरेर देखाउने पार्टी भएको ओलीले बताउनुभयो।