काठमाडौँ-राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा र मातहतका समितिबाट भएगरेका काम कारबाही र गतिविधिका समाचार सन्तुलित रुपमा सम्प्रेषण गर्न सञ्चार माध्यमलाई सुझाव दिनुभएको छ।
सदन चलाउने, व्यवस्थित गर्ने र नियमित तुल्याउने भूमिका संसदीय समितिकै क्रियाशीलतामा निर्भर रहने बताउनुहुँदै उहाँले कतिपय राष्ट्रिय सराकोरका मुद्दामा बुझने र बुझाउने विषयमा सरकार, सदन, राजनीतिक दल र पत्रकारमा देखिएको खाडल घटाउनु पर्ने आवश्यकता औँल्याउनुभयो।
घटना विशेषका आधारमा नभई समग्रमा राष्ट्रियसभा मातहतका समितिका समाचारले केकति स्थान प्राप्त गर्छन् र त्यसमा कस्तो सहयोग पु¥याउनुपर्छ भन्ने भावना सञ्चारजगतले राखिदिन अध्यक्ष दाहालको आग्रह छ।
सबैको साझा र अपनत्व लिने गरी राष्ट्रियसभा सञ्चालन गर्न प्रयत्न भइरहेको उहाँको भनाइ छ। उहाँले सकारात्मक आलोचनासहित रचनात्मक ढङ्गबाट समाचार सम्प्रेषण गरी सहयोग पु¥याउन सुझाव दिनुभयो। संसदीय मामिला पत्रकार समाजका पदाधिकारीसहितका पत्रकारसँगको भेटमा उहाँले सदन चले वा नचले पनि समितिका कामलाई प्रभावकारी तुल्याउन राष्ट्रिय महत्वका विषयवस्तुलाई केन्द्रित गरी छलफल गर्न सभापतिलाई निर्देशन दिएको बताउनुभयो।
अध्यक्ष दाहालले भन्नुभयो, “देश र दुनियाँको ध्यान केन्द्रित हुने गरी समितिमा छलफल चलाउने र राष्ट्रको प्राथमिकताका विधेयक र कानुनलाई समयमै सक्ने दृढ सङ्कल्पकासाथ संसदीय समितिले काम गर्नुपर्छ।”
विधेयकमाथि हुने राय-परामर्श र सुझाव लिन आमन्त्रण गरिने विषय विज्ञ राजनीतिक दलको कोटाका आधारमा नबोलाउन समितिलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “विज्ञ बोलाउँदा कुन दलको कति परे भन्ने होइन, खास विषयमा ज्ञान राख्ने र मागेको खुराक दिन सक्ने विज्ञ ल्याए पुग्छ।”
विश्वासिलो वातावरण सिर्जना गर्दै अपेक्षा, आवश्यकता र सम्भावनाको पाटोमा उत्तिकै ध्यान दिन आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ । उहाँले नतिजा दिने गरी राष्ट्रियसभालाई अघि बढाउन गृहकार्य र समन्वय गर्न सचिवालयका कर्मचारी तथा समितिका पदाधिकारीलाई सुझाव दिनुभयो।




प्रतिक्रिया