अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णाली र सुदूरपश्चिम सरकारको प्राथमिकतामाः मन्त्री भण्डारी

कर्णाली र सुदूरपश्चिम सरकारको प्राथमिकतामाः मन्त्री भण्डारी


बैतडी-उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले कर्णाली र सुदूरपश्चिमलाई प्राथमिकतामा राखेको बताउनुभएको छ। बैतडीको देहिमाडौंमा आज अन्तरपालिका महिला तथा पुरूष भलिबल प्रतियोगिताको उद्घाटनका अवसरमा मन्त्री भण्डारीले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिम र कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेको बताउनुभयो।

उहाँले भन्नुभयो, 'सुदूरपश्चिम र कर्णाली प्रदेशमा जडीबुटी र खानीसम्बन्धी थुप्रै सम्भावना छन्, ती सम्भावना खोजी गर्ने र उद्योग सञ्चालनको विषयलाई नीति तथा कार्यक्रममा राखिएको छ।' सरकारको अहिलेको प्राथमिकता विदेश पलायन हुने युवालाई स्वदेशमै रहने वातावरण सिर्जना गर्नु रहेको उहाँको भनाइ थियो। उहाँले भन्नुभयो, 'हामीकहाँ सम्भावना धेरै छन्। कृषि, उद्योग र उद्ममशिलता अहिलेको प्राथमिकता हो। युवाहरूलाई उद्यमशिलतालाई सरकारले नीति तथा कार्यक्रम समेटेको पनि छ।'

सुदूरपश्चिमका खानीहरूको अध्ययनका लागि प्राविधिक टोली पठाइएको बताउदै मन्त्री भण्डारीले बैतडीको फस्फोराइट खानी, बैतडीमा सिमेन्ट उद्योग सञ्चालन गर्न आइएमई ग्रुपसँग छलफल भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, 'विकासमा पछाडि परेको सुदूर र कर्णाली प्राथमिकतामा छ। दैजी छेला औद्योगिक क्षेत्र, दोधाराचाँदनी सुक्खा बन्दरगाह, पश्चिम सेती आयोजना अगाडि बढाइदैछ। बैतडीका सबै पालिकामा जडीबुटी पहुँचमार्ग बिस्तार गरिनेछ।'

फरक प्रसङ्गमा उहाँले विपक्षी दलले सदनलाई बन्धन बनाएको बताउनभयो। उहाँले भन्नुभयो, 'सरकारको आगामी आवका नीति तथा कार्यक्रम प्रस्तुत भएपछि नेपाली कांग्रेसले संसद् अवरुद्ध गरेको छ। संसदीय छानबिन समिति बनाउनुपर्ने माग सदन चल्न दिएर पनि उठाउन सकिन्छ। संसद अवरुद्ध हुँदा जनजीविकाका सवाल संसद्मा उठ्न सकेका छैनन्। थुप्रै कानुनहरू अगाडि बढ्न सकेका छैनन्। राष्ट्रिय मुद्दा ओझेलमा परेका छन्।'

नेपाल खेलकुद महासङ्घको आयोजनामा सुरू भएको अन्तरपालिका भलिबल प्रतियोगितामा जिल्लाका स्थानीय तहका टोलीको सहभागिता छ। प्रतियोगिताको प्रथम पुरुस्कार रु ७७ हजार सात सय ७७, दोस्रो पुरुस्कार रु.५५ हजार पाँच सय ५५, तेस्रो पुरुस्कार रु ४४ हजार चार सय ४४ र सान्त्वना पुरुस्कार रु.३३ हजार तीन सय ३३ रहेको नेपाल खेलकुद महासङ्घ बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयो।