इटहरी-महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने गरी तयारी गरेको बताउनु भएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुनसरीमा आयोजना गरेको अपाङ्गता भएका व्यक्तिका लागि राष्ट्रिय कार्यक्रम तर्जुमा गर्न विभिन्न निकायबाट संकलित कार्यक्रमको अवस्था अध्ययन विश्लेषण तथा अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताउनु भएको हो।
अपांगता भएका व्यक्तिहरूका पक्षमा बढीभन्दा बढी काम गर्ने उद्देश्यले मन्त्रालय अगाडि बढिरहेको भन्दै उहाँले राज्यले अन्ताराष्ट्रियस्तरमा गरेका सन्धि सम्झौताको कार्यान्वयनका निम्ति लागिरहेको बताउनु भयो।
‘हामी आफैले पनि अपांगता भएका व्यक्तिहरूका निम्ति विशेष निगरानीका साथ काम अघि बढाइरहेका छौँ। देशभर भएका अपांगता भएका सबै व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य बिमा गराउने लक्ष्य लिएका छौँ। त्यसो गर्न सके धेरै राम्रो हुन्छ भन्ने उद्देश्यले हामीले पहल गर्दै आएका छौँ’, मन्त्री चौधरीले भन्नभयो, ‘यी कुरा यसैपालि पनि सहयोग गर्न सकिन्छ, यदि स्थानीय निकायले सहयोग गर्यो भने‚ ‘स्थानीय निकायको निजी आयस्रोत पनि रहेको छ।’




प्रतिक्रिया