अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कैलाश सिरोहियाको बचाउमा किन लागे कांग्रेसका नेताहरू ?

कैलाश सिरोहियाको बचाउमा किन लागे कांग्रेसका नेताहरू ?


काठमाडौं-पक्राउ पुर्जी जारी भएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरु कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई भेट लर्को लागेर थालाथलीस्थित कान्तिपुरको कार्यालयमा पुगेका छन्। 

सिरोहियालाई भेट्न नेपाली कांग्रेस सांसद रामहरी खतिवडासहित पूर्वमन्त्री एनपी साउद, राजेन्द्र बजगाईं, रामनाथ अधिकारी, वीरबहादुर बलायर, दीपक गिरी, रामकृष्ण यादव, चन्दा चौधरी लगायतका नेताहरू थापाथली पुगेका हुन्।

कांग्रेस सांसद बद्रि पाण्डेले मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा पनि यो विषय उठाउनु भएको थियो।

सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रसंगमा उहाँले भन्नुभयो, ‘कानुनी कारबाहीको दायरामा हरेक नागरिक आउनुपर्छ। तर आग्रह र पूर्वाग्रह राखेर कसैमाथि कारबाही भयो भने नेपाली कांग्रेसले कसैलाई सहँदैन।’

सिरोहियालाई भेटपछि सांसद रामहरी खतिवडाले ढाडस दिनुभएको छ। उहाँले भन्नुभयो, ‘पक्राउ पुर्जी जारी भएको समाचार थाहा पाएपछि त्यो के रहेछ भन्ने जानकारी लिन आएका हौं। कसैलाई पूर्वाग्रही तरिकाले थुन्ने मुद्दा चलाउने पद्धतिमा सरकार लागेको हो भने घोर आपत्ति छ। कसैका दोहोरो नागरिकता दोहोरो पासपोर्ट तीन/चारवटा श्रीमती हुँदा छुट्कारा पाउने। कसैलाई ठ्याप्प समाइहाल्ने सरकारको प्रवृत्ति हो भने हामीलाई सैह्य हुँदैन।’

कांग्रेस सांसद राजेन्द्र बजगाईँले गृहमन्त्रीले सिरोहियामाथि प्रतिशोध ठानेर अनैतिक हमला गरेको टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो, ‘हामीले उहाँको नागरिकताबारे अलिकति अध्ययन गर्‍यौं। उहाँको दुईवटा नागरिकता होइन। प्रतिलिपि भनिएको छ। प्रतिलिपि त मैले पनि लिएको छु। डेटहरू फरक गर्ने प्रशासन सरकारको त्रुटि होला। स्वतन्त्र प्रेसले उठाएका चिजलाई प्रतिशोध ठानेर उहाँले अनैतिक हमला गर्नुभएको छ। स्वतन्त्र प्रेसको समर्थनमा हामी ऐक्यवद्धता जारी गर्न आएका हौं। पक्राउ पुर्जी माध्यम मात्र हाे।’

 जिल्ला अदालत धनुषाले सिरोहियाविरुद्ध मङ्गलबार पक्राउ पुर्जी जारी गरेको हो। सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको थियो। जाहेरीमा सिरोहियाले फरक-फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो।

जाहेरीमा सिरोहियासँग हिमालयन रिइन्स्योरेन्स नामको कम्पनीको संस्थापक शेयर रहेको र कम्पनी रजिस्ट्रारको कार्यालयमा पेश गरेको प्रबन्ध पत्रमा धनुषा जिल्ला प्रशासन कार्यालयबाट जारी भएको नागरिकता नम्बर २८३९८८८६ रहेको विवरण हस्ताक्षरसहित पेश गरेको भनिएको छ।

तर उहाँले सन् २०१३/०३/२१ मा जारी भएको ०६३….. र सन् २०१७/०७/१२ मा जारी भएको १०४६…. नम्बरको साधारण राहदानी र २०२३/०९/१५ मा जारी भएको डीए०००…. नम्बरको कुटनीतिक राहदानी लिँदा धनुषाबाट जारी भएको नागरिकतो नम्बर ३९६९८८८६ उल्लेख गरेको भनिएको छ । उहाँले राष्ट्रिय परिचय पत्र र मतदाता नामावलीमा समेत नागरिकता नम्बर ३९६९८८८६ नै उल्लेख गरेको भनिएको छ।

तेलीको नागरिकतामा प्रथम पटक जारी मिति २०३६/०५/२० र प्रमाण पत्र जारी गर्ने अधिकारीको नाम र दर्जा स्पष्ट रुपमा उल्लेख रहेको भनिएको छ।

तर, धनुषा जिल्ला प्रशासन कार्यालयबाट जारी ३९६९८८८६ नम्बरको नागरिकता सिरोहियाको नामको नभइ धनुषाकै जनकपुर–२ निवासी शिवजी साहु तेलीको नाममा रहेको देखिने जाहेरीमा भनिएको छ। सोही नागरिकता नम्बर तेलीको मतदाता नामावली पनि उल्लेख रहेको भनिएको छ।