अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समानीकरण अनुदान कटौती हुँदैन स् प्रधानमन्त्री

समानीकरण अनुदान कटौती हुँदैन स् प्रधानमन्त्री


काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय सरकारलाई उपलब्ध हुँदै आएको समानीकरण अनुदान कटौती नहुने बताउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नगरपालिका महासङ्घ र गाउँपालिका महासङ्घका प्रतिनिधिहरूले संयुक्त रुपमा आज गर्नुभएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो।

भेटमा प्रधानमन्त्रीले समानीकरण अनुदान संवैधानिक अधिकार भएकाले यसलाई कटौती गर्नेबारे सङ्घीय सरकारले कुनै सोच नराखेको बताउनुभयो। प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘समानीकरण अनुदान प्रदेश र स्थानीय सरकारको संवैधानिक अधिकार हो। अर्थतन्त्रको दबाब पूरै हटिसकेको छैन। तर, जस्तोसुकै दबाब भए पनि समानीकरण अनुदान काटिँदैन। यसमा सङ्घीय सरकार प्रष्ट छ।’

छलफलमा अर्थमन्त्री वर्षमान पुनले समानीकरण अनुदान कटौती गर्ने कुनै सोच नभएकाले अनावश्यक भ्रममा नपर्न स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, ‘सङ्घीय सरकार अर्थतन्त्रको दबाबमा छ। सञ्चित कोष ऋणात्मक नै छ। तर, जस्तोसुकै अप्ठ्यारो परिस्थिति आए पनि समानीकरण अनुदान काट्दैनौँ। बरु, प्रदेश र स्थानीय सरकारमा खर्बौं रकम निक्षेपमा बसेको छ। त्यसलाई खर्च गर्नुस् । प्रदेश र स्थानीय सरकारको पुँजीगत खर्च बढाउनुस्।’

भेटमा दुबै महासङ्घका प्रतिनिधिहरूले अर्थतन्त्रको दबाबलाई ख्याल गर्दै समपूरक अनुदानमा पुनर्विचार गर्नेबारे आफूहरू लचक भएको बताउँदै समानीकरण अनुदान कटौती नगर्न ध्यानाकर्षण गराएका थिए।