अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कलाकार छिरिङ शेर्पा सगरमाथाको चुचुरोमा

कलाकार छिरिङ शेर्पा सगरमाथाको चुचुरोमा


काठमाडौँ-कलाकार छिरिङ शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ। मोडल तथा कलाकार शेर्पाले आइतबार सगरमाथाको चुचुरोमा पुगी त्यहाँ आफ्नो आगामी चलचित्र ‘टासिदेलेक’को पहिलो पोष्टरसहित विभिन्न सङ्घसंस्थाका झण्डा पनि फहराउनुभएको थियो।

सगरमाथाको सफल आरोहणपछि उहाँले जलवायु परिवर्तनबाट हिमाली भू–भागमा परेको असरलाई न्यूनीकरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउनुपर्ने बताउनुभयो। सामाजिक सञ्जालमार्फत आरोहणको सन्देश दिँदै शेर्पाले राज्यले सगरमाथाको आरोहणबाट प्राप्त गरेको आम्दानीको केही हिस्सा हिमाली भेगको विकासका क्षेत्रमा लगाउनुपर्नेमा जोड दिनुभयो।

सो सन्देशमा उहाँले शेर्पा समुदायलाई हिमाल आरोहीका रुपमा मात्र व्याख्या नगरी उनीहरुलाई राज्यका हरेक संयन्त्रमा जोडिन सक्ने वातावरण सिर्जना गर्न पनि माग गर्नुभयो। शेर्पाले यसै पनि भौगोलिकरुपमा विकट मानिएको हिमाली क्षेत्रलाई राज्यले विशेष प्राथमिकतामा राखेर योजना बनाइनुपर्ने भन्दै हिमाल आरोहीलाई तत्काल आधुनिक सूचना प्राप्त गर्नसक्ने संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।

सन्देशमा कलाकार शेर्पाले हिमाली क्षेत्रको भाषा, कला, संस्कृति, रीतिरिवाज र चाडपर्वलाई जगेर्ना गरी राष्ट्रियस्तरमा यसको प्रवर्द्धन गर्नुुपर्ने तथा सगरमाथा आरोहणमा देखिएका चुनौती र चापलाई व्यवस्थित र मर्यादित बनाउन पहल गर्नुपर्ने उल्लेख गर्नुभयो।