अमेरिका-सुनसरीको धरानमा जन्मेका आशिष पोखरेल (एड्रियन) यतिखेर भर्जिनिया-१० बाट अमेरिकी संसदका लागि डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बन्नभएको छ।
निर्वाचनको नियमअनुसार एक हजार जनाको हस्ताक्षर प्रमाणित गरेपछि उहाँ उम्मेदवार बन्नुभएको हो। कुनैपनि उम्मेदवारलाई यति संख्यामा हस्ताक्षर पुर्याउन ठूलो चुनौती हुन्छ। उहाँले उक्त चुनौति छोटो समयमै पार गरेर अहिले चुनावी प्रचारप्रसार अभियान तीव्र बनाएका छन्।
१४ वर्ष अमेरिकी सेनामा काम गरेका अमेरिकी सेनाका पूर्व कप्तान पोख्रेलले विश्वकै शक्तिशाली गुप्तचर संस्था केन्द्रीय खुफिया एजेन्सी (सीआईए)मा ६ वर्ष काम गरिसकेका छन्। कुनैपनि नेपाली मुलका व्यक्तिले सिआइएमा काम गरेको यो पहिलो अवसर हो। उहाँको उम्मेदवारीलाई नेपालीहरुले मात्र होइन, भर्जिनिया १० मा रहेका धेरै अमेरिकीहरुले पनि सकारात्मक रुपमा हेरेका छन्।
उहाँको उम्मेदवारीबाट नेपालीहरुलाई हेर्ने अमेरिकी दृष्टिकोण बदल्न सक्ने सम्भावना भएकोले त्यहाँका नेपालीहरुले सकारात्मक रुपमा लिएका छन्। साथै उहाँले लिएका एजेण्डाहरुका कारण उहाँलाई अमेरिकीहरुले पनि मन पराएका छन्।
उहाँले आफूले अमेरिकीहरुबीच एकता र समानता ल्याउनका लागि चुनावमा होमिएको बताएका छन्। एड्रियनले मानसिक स्वास्थ्य सेवा सुधार गर्ने, स्वास्थ्य सेवाको लागत घटाउने, र महिलाको प्रजनन अधिकार, रोजगारी सिर्जना, श्रमिक संघहरूको अधिकार र लोकतन्त्रको सुरक्षालाई प्राथमिकता दिएका छन्।
पोख्रेल सैन्य खुफिया, व्यवस्थापन, नेतृत्व, साइबर, नैतिक ह्याकर, नेटवर्क प्रशासक, सुरक्षा विशेषज्ञ, राष्ट्रिय सुरक्षा जस्ता विषयका ज्ञाता छन्। धरानको शिक्षा सदनबाट शिक्षा सुरु गरेका उहाँले अमेरिकामा बिजनेस एड्मिनिस्ट्रेसन, फाइनान्स, इन्टेलिजेन्स स्टडी र रणनीतिक सुरक्षा विषयमा अध्ययन गरेका थिए।
आउँदो जुन १८ मा हुने प्राथमिक निर्वाचनमा पोख्रेलसहित ११ जना उम्मेदवार प्रतिष्पर्धामा छन्।
को हुन् एड्रीयन पोख्रेल ?
बासुदेव पोख्रेल र धरानी पोख्रेलको कोखबाट धरान १४ विजयपुरमा पोखरेलको जन्म भएको थियो। उहाँको बाल्यकाल सुनसरीमै बित्यो। उहाँले धरानकै शिक्षा सदन माविबाट स्कुले शिक्षा लिए भने उच्च शिक्षा काठमाडौंको शंकर देव क्याम्पसबाट पाए। त्यसपछि उहाँले अमेरिकाको टेक्सासस्थित सान ज्याकिन्टो कम्युनिटी कलेमा बिजनेस एड्मिनिस्ट्रेसन र ह्युस्टन विश्वविद्यालयबाट फाइनान्स विषयमा स्नातक उत्तीर्ण गरे।
उहाँको अध्ययन त्यतीमै रोकिएन। अमेरिकी सैन्य विश्वविद्यालयबाट इन्टेलिजेन्स स्टडीमा मास्टर्स अनि राष्ट्रिय अमेरिकी विश्वविद्यालयबाट रणनीतिक सुरक्षामा पीएचडी–सी गर्नुभयो।
अमेरिकामा सुरुवाती दिनमा ह्युस्टन क्षेत्र वरपर ग्यास स्टेशनमा काम गरेका उहाँले त्यसपछि कन्टिनेन्टल एयरलाइन्समा विभिन्न पदमा ११ वर्ष काम गरे । त्यसपछि ह्युस्टन प्रहरी विभाग, यातायात सुरक्षा प्रशासन, रेलमार्ग, राष्ट्रिय सुरक्षा एजेन्सी हुँदै उनले केन्द्रीय खुफिया एजेन्सी ९सीआईए० मा ६ वर्ष काम गरे । उनले अमेरिकी सेनामा भर्ती भएर सैनिक हुँदै अधिकारीसम्म भए। सेनाको अधिकारी भएर १२ वर्ष काम गरे । उनले जहाँबाट उनले कप्तान भएर अवकाश पाएका थिए।
प्रतिक्रिया