अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बुद्ध दर्शन अन्धविश्वास होइन, वैज्ञानिक तथ्यमा आधारित दर्शन हो: प्रधानमन्त्री ओली

बुद्ध दर्शन अन्धविश्वास होइन, वैज्ञानिक तथ्यमा आधारित दर्शन हो: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्म अन्धविश्वास नभई वैज्ञानिक तथ्यमा आधारित दर्शन भएको बताउनु भएको छ।

बौद्ध विद्वान डाक्टर अजयक्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक दर्शन’ पुस्तक विमोचन तथा भिक्षु एवं अनगारिका गुरुमाहरूमा संघदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताउनु भएको हो।

प्रधानमन्त्री ओलीले पुस्तक लेखनमा डाक्टर शाक्यले गरेको मेहनतको प्रशंसा गर्दै ज्ञान सङ्ग्रह गरेर पुस्तकका रूपमा बाँडेकोमा लेखकलाई विशेष धन्यवाद दिनुभयो। उहाँले हाम्रो समाज विविधतायुक्त भएको भन्दै नेपाल सामाजिक, भौगोलिक, जैविकलगायतका विविधतायुक्त भएकाले बुद्धलाई विविध ढङ्गले चिन्ने गरेको उल्लेख गर्नुभयो।

बुद्धले त्यसै सुखसयल र दरबार नछोडेको पनि बताउनुभयो। नेपाल बुद्धको जन्मथलो मात्रै होइन बुद्ध दर्शनको थालनी भएको देश पनि भएको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो। नेपाललाई सबै नेपालीको साझा देश र शान्तिको देशका रुपमा चिनाउनु पर्नेमा उहाँले जोड दिनुभयो।

बुद्ध दर्शनलाई जटिल बनाउन नहुने बताउनुहुँदै उहाँले अन्धविश्वासमा नभइ वैज्ञानिक दर्शनमा आधारित भएको उल्लेख गर्नुभयो।

प्रधानमन्त्रीले धम्मवती गुरुमालाई सांसद बन्नु भन्दा नमान्नु भएको पनि स्मरण गर्नुभयो।

नेपालबाट बुद्ध दर्शनलाई कमजोर हुन नदिने उहाँको भनाइ छ। उहाँले बुद्धको शिक्षाको विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। पुस्तकका लेखक एवं बौद्ध विद्वान डाक्टर शाक्यले आफ्नो पुस्तकबारे चर्चा गर्दै बौद्ध धर्म–दर्शन अनुसार जीवन भनेको के हो ? हामी किन जन्मिन्छौं ? किन मर्छौ ? मानिस भनेको के हो ? यो भवचक्र किन चलिरहेको छ ? यी सबै प्राणीहरु भनेका के हुन ? यो ब्रम्हाण्ड भनेको के हो ? स्वर्ग नर्क आदि लोक भनेको के हो ? पूर्व जन्म भनेको के हो ? कर्म भनेको के हो ? अनित्य, दुःख र अनात्म भनेका के हुन् ? कर्म विपाक हुन्छ कि हुँदैन ? लोभ, मोह, तृष्णा आदि भनेका के हुन् ? चित्त चेतना भनेका के हुन ? जस्ता यावत प्रश्नहरु बौद्ध दर्शनका पाठकहरु समक्ष स्पष्ट पार्न पुस्तक सहयोगी बन्ने अपेक्षा लिएको उल्लेख गर्नुभयो ।

जीवन जिउने कला वा होशपूर्ण रुपमा मर्ने कला सम्बन्धी बौद्ध दर्शनलाई पाठकहरु समक्ष स्पष्ट पार्न पनि पुस्तक सहयोगी बन्ने अपेक्षा लिएको छु,’ उहाँले भन्नुभयो, ‘ध्यान र यसको विज्ञान नामक पुस्तक लेख्ने क्रममा उक्त पुस्तकको पहिलो अध्याय नै एउटा पुस्तकका रुपमा प्रकाशित गर्दा उचित होला भन्ने ठानेर पहिलो अध्यायलाई पुस्तकका रुपमा ‘बुद्धका मौलिक दर्शन’ भनी प्रकाशित गरेको हुँ ।’

कार्यक्रममा १ सय जना भिक्षुहरुलाई अष्ट परिष्कार दान प्रदान गरिएको थियो। त्यसैगरी ५५ जना अनगारिका गुरुमाँहरुलाई बस्त्र तथा अन्य बस्तुदान गरिएको थियो। सो, संघदान दाताका रुपमा पुस्तकका लेखक शाक्य र पूर्वराजदूत एवं राष्ट्रिय सभाका सदस्य डाक्टर अन्जान शाक्य हुनुहुन्थ्यो।