अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१०० फिट माथि गएपछि जहाज कन्ट्रोल गर्न सकिनँ: क्याप्टेन शाक्य

१०० फिट माथि गएपछि जहाज कन्ट्रोल गर्न सकिनँ: क्याप्टेन शाक्य


काठमाडौं-दुर्घटनामा परेको सौय एयरलाइन्स जहाजका क्याप्टेन मनीषरत्न शाक्यको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ।

अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले क्याप्टेन शाक्यको अवस्था सामान्य रहेको र अन्य जटिलताहरू नदेखिएको बताउनुभयो।

क्याप्टेन शाक्यको आँखा, नाक र टाउकोमा चोट रहेको, ढाडको एउटा हड्डीका साथै देव्रेतर्फका तीन वटा करङ भाँचिएको अवस्था रहेको डा. थापाले बताउनु भयो। उहाँले भन्नुभयो, ‘आँखा, नाक र टाउकोमा  लागेका चोटको बुधबार नै उपचार गरिसकिएको छ।’

दुर्घटनामा घाइते भई उपचाररत क्याप्टेन शाक्यको अवस्थाबारे काठमाडौं मेडिकल कलेजले बिहीबार दिउँसो विज्ञप्ति निकालेरै जानकारी गराएको छ।

घाइते क्याप्टेन शाक्यको बुधबारदेखि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ। क्याप्टेन शाक्यले डा. थापासँग जहाज दुर्घटनाका सन्दर्भमा केही कुरा सुनाउनु भयो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेबाट जहाज उडाएर ५०-१०० फिटमाथि पुर्‍याएपछि आफूले नियन्त्रण गर्न नसकेको क्याप्टेन शाक्‍यको भनाइ छ।

बुधबार बिहान ११ बजेर ११ मिनेटमा उडेको जहाज केहीबेरमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै दुर्घटनामा परेको थियो। जहाज दुर्घटनामा परेर १७ जना नेपाली र एक विदेशीको निधन भएको थियो भने क्याप्टेन शाक्य घाइते हुनुभएको थियो।

अस्पतालकी निर्देशक डा. थापाले क्याप्टेन शाक्यसँग गरेको कुराकानी उद्धृत गर्दै जानकारी दिनुभयो । ‘जहाज उडाउन कोशिस गर्दै थिएँ, ५०–१०० फिट माथि गएको थियो । त्यसपछि कन्ट्रोल गर्न सकिनँ,’ क्याप्टेन शाक्यले बताएको कुरा उद्धृत गर्दै निर्देशक डा. थापाले भन्नुभयो, ‘छिनमै जहाज तल झर्‍यो, मचाहिँ कता–कताबाट बाहिर निस्किएँ।’ शाक्यलाई आइसियूमा राखेर उपचार गरिएको छ । सौर्य एयरको नाइनएन– एएमई / सिआरजे २०० कलसाइनको जहाज बुधबार दुर्घटनामा परेको थियो।