अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको स्पष्ट नीति छ: अर्थमन्त्री पौडेल

घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको स्पष्ट नीति छ: अर्थमन्त्री पौडेल


काठमाडौं-उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ठूलो संख्या रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने महत्त्वपूर्ण माध्यम घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको स्पष्ट नीति रहेको बताउनु भएको छ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँगको छलफलमा अर्थ मन्त्रालयमा अर्थमन्त्री पौडेलले यसको निम्ति कानुन, नियम, निर्देशिका तथा निर्णयहरुमा ध्यान दिनुपर्ने कुराहरुमा ध्यान दिने प्रतिबद्धता जनाउनुभयो।

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग उहाँले भन्नुभयो, ‘घरेलु तथा साना उद्योगको महत्व भनेकै देशका सबै जिल्ला, सबै पालिकामा यसको विस्तार हुनु हो। ठूलो संख्यामा रोजगारीका रुपमा यो क्षेत्रमा आवद्ध रहेको छ। यसलाई अझै विस्तार गर्न सक्ने सम्भावना छ। यो क्षेत्र स्वरोजगारीका लागि पनि महत्वपूर्ण माध्यम हो। त्यसैले घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको स्पष्ट नीति छ । त्यसकारण यो क्षेत्रसँग सम्बन्धित कानुन, नियम, निर्देशिकामा के कस्ता व्यवस्था गर्नुपर्छ त्यसमा सरकारले ध्यान दिन्छ।’

सरकारले निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यसाथ काम गरिरहेको बताउँदै उनले अहिले उत्पादन, रोजगारीको अवस्था र समस्याहरुको जानकारी लिने र छलफल गर्ने काम भइरहेको बताउनु भयो।

सरकारको ध्यान सबैलाई उत्साहकासाथ आफ्नो पेशा, व्यवसाय र उत्पादनमा लाग्नसक्ने परिस्थिति निर्माण गर्नमा रहेको भन्दै उहाँले आवश्यक सुझाव मागेका थिए। 

औद्योगिक तथा लगानी प्रवर्द्धन कोष सञ्चालन कार्यविधिलाई छिटो अगाडि बढाइने उहाँले बताउनुभयो। महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले मुलुकको अर्थतन्त्रको संवाहकका रुपमा रहेका लघु, घरेलु तथा साना उद्योगहरु विभिन्न कालखण्डमा विभिन्न समस्याहरुबाट प्रताडित हुँदै आएको बताउँदै पछिल्लो कालखण्डमा २०७२ को विनासकारी भूकम्प, २०७६ देखि कोरोना महामारी आदिका कारण यस्ता उद्योगहरु धरापमा परेकोतर्फ ध्यानाकर्षण गराउनु भयो।

लघु, घरेलु तथा साना उद्योगहरुमा पर्ने यसको असरले समग्र देशको अर्थतन्त्रलाई नै प्रभाव पार्ने, रोजगारी सिर्जनामा गतिरोध उत्पन्न हुने, मुलुकको राजश्वमा कमी आउने तथा उद्यमी स्वयंलाई चाहि बैंकको ब्याज भुक्तानीमा प्रत्यक्ष असर पु-याउने गरेको उहाँले बताउनु भयो।

अहिलेको मुख्य समस्या नै साना उद्योगीको ऋण भएकाले विगतमा सरकारले साना तथा महिला उद्यमीलाई लक्षित गरी ल्याइएको सहुलियतपूर्ण र पुनर्कर्जाको व्यवस्थालाई यथावत कायम राख्न महासंघका अध्यक्ष सिंहले अनुरोध गर्नुभयो।