अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

द्वन्द्व पीडितहरूको न्यायको मागलाई सरकारले सम्बोधन गर्छ: अर्थमन्त्री पौडेल

द्वन्द्व पीडितहरूको न्यायको मागलाई सरकारले सम्बोधन गर्छ: अर्थमन्त्री पौडेल


काठमाडौं-उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले द्वन्द्व पीडितको न्याय मर्न नदिने बताउनुभएको छ।
बुधरबार प्रकाश स्मृति दिवसको अवसरमा इन्सेकले आयोजना गरेको प्रकाश स्मृति पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले पीडितहरूको न्यायको मागलाई सरकारले उचित रूपमा सम्बोधन गर्ने बताउनुभयो।

नेपाली समाजले एउटा पीडादायी द्वन्द्व भोगेको बताउँदै पौडेलले देश द्वन्द्वबाट बाहिर निस्किए पनि द्वन्द्वको घाउ अझै बाँकी नै रहेको बताउनुभयो। ‘द्वन्द्व अन्त्य भएको छ, शान्ति स्थापना भएको छ तर अझै पनि द्वन्द्वका घाउ निको भएका छैनन्’, उहाँले भन्नुभयो।

पीडितको पक्षपोषण हुने गरी शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो। सरकार त्यही दिशामा अघि बढेको उहाँले बताउनुभयो। ‘नेपाल सरकार पीडितको न्यायको पक्षमा रहेको छ’, उहाँले भन्नुभयो।

नेपाली समाजले अनपेक्षित, अनावश्यक, अनुचित द्वन्द्वको सामना गर्नुपरेको पौडेलले बताउनुभयो। नेपालले समयसम्म बोझका रूपमा सम्झिरहने द्वन्द्व भोग्नु परेको पौडेलको भनाइ छ। शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो टुङ्ग्याउनु पर्छ भन्ने कुरामा सरकार दृढ रहेको उहाँले बताउनुभयो।

पौडेलले मानव अधिकारको आन्दोलन निरन्तर चलिरहने आन्दोलन भएको बताउनुभयो । समय अनुसार यसको स्वरूप मात्र फरक हुने पौडेलले स्पष्ट पार्नुभयो।

इन्सेकले यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार सङ्क्रमणकालीन न्यायका लागि सङ्घर्षरत काभ्रेको नमोबुद्ध नगरपालिका दाप्चाकी ६२ वर्षीया पूर्णिमाया लामालाई प्रदान गरेको छ । पूर्णीमायाका पति अर्जुन लामालाई माओवादीले द्वन्द्वको बेलामा हत्या गरेका थिए ।

माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाको योजनामा उहाँको हत्या गरिएको आरोप छ । सापकोटा विरुद्धको सो मुद्दा अहिले पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ।

मानवअधिकारकर्मी तथा इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा इन्सेकले उक्त पुरस्कार स्थापना गरेको हो। पुरस्कार ५० हजार रुपैँया राशिको रहेको छ।

इन्सेकका संस्थापक महासचिव काफ्लेको २०४९ साल साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाई एयर दुर्घटनामा निधन भएको थियो । नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा काफ्लेको महत्त्वपूर्ण योगदान रहेको छ ।
आजको सो कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री केपी शर्मा ओली जाने कार्यक्रम थियो । तर स्वास्थ्यमा सामान्य समस्या आएपछि उहाँ कार्यक्रममा जान नसकेको पौडेलले जानकारी दिनुभयो ।