अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

योजना बैङ्क मार्फत छान्छौं, बजेटको विकृति हटाउँछौं: मुख्यमन्त्री कार्की

योजना बैङ्क मार्फत छान्छौं, बजेटको विकृति हटाउँछौं: मुख्यमन्त्री कार्की


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना बैङ्क मार्फत बजेटमा योजनाहरू समावेश गरेर अगाडि बढ्न सके बजेटमा देखिएको समस्याहरू निरूपण भएर जाने बताउनु भएको छ। उहाँले योजना एक तिर बजेट अर्कोतिर हुने परिपाटी भएकाले यसको अन्त्य गरिने बताउनुभयो। उहाँले भन्नु भयो, ‘हामीले योजना एकातिर र बजेट अर्कोतिर हुने परिपाटी अन्त्य गर्न योजना बैङ्क कसरी बनाउने र कसरी कार्यान्वयनमा लैजाने भन्ने छलफल गरिरहेका छौं। अगामी दिनमा त्यस्तो हुन दिँदैनौं ।

प्रदेश योजना आयोगद्वारा शुक्रवार विराटनगरमा आयोजित प्रदेशको समग्र आर्थिक विकास तथा लगानीको वातावरणमा सुधारका क्षेत्रमा अनुभव सिकाइ आदान-प्रदान कार्यक्रममा बोल्दै कार्कीले योजनालाई नागरिकको पक्षमा कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले योजनाहरु कार्यान्वयनमा प्रदेश सभा सदस्य, राजनैतिक नेतृत्व, विकासका साझेदारहरु र नागरिक समाजसँग आवश्यक छलफल गरी कार्यान्वयन गर्ने बताउनुभयो।

मुख्यमन्त्री कार्कीले प्रदेश स्थापना भएको अवधिमा प्रदेशमा विकासको पर्याप्त उपलब्धि हासिल गर्न सफल भए पनि यसको प्रचार गर्न नसक्दा प्रदेश प्रति वितृष्णा फैलाइएको बताउनु भयो। उहाँले भन्नु भयो, ‘अहिले ठूला दुई दल मिलेपछि प्रदेश संरचना चाहिँदैन भन्ने आवाज केही व्यक्तिहरूबाट आउन थालेको छ। यसले अराजकता निम्ताउन सक्छ। बरु हामीले यसलाई बलियो बनाउने तर्फ लाग्नुपर्छ। यस्ता आवाज निस्तेज गर्नु पर्छ।

उहाँले प्रदेशमा विकासको गतिलाई तीव्रता दिन राष्ट्रिय पुँजीको विकास आवश्यक रहेको बताउनु भयो। उहाँले भन्नु भयो‘ यसका लागि स्थानीय स्रोत,साधन र खनिज पदार्थको अधिकतम उपयोग र निर्यात गर्न आवश्यक छ।

मुख्यमन्त्री कार्कीले मुलुकको व्यापार घाटा कम गर्न कृषि, पशुपालनको उत्पादन वृद्धि र जलविद्युतको निर्यात जरुरी रहेको विचार राख्नु भयो।

उहाँले पर्यटक आवागमन वृद्धिका लागि पर्यटकीय क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधारको विकास, सहज यातायात र व्यवस्थित वासस्थानमा व्यवस्था गरी दुई छिमेकी देशका नागरिकहरूलाई आकर्षण गर्नुपर्ने सुझाव दिनु भयो।

उहाँले भारतीयहरूलाई नेपाल आगमनमा सहजता दिन भारतीय रुपैयाँ पाँच सय र एक हजारको नोट एवं रु २५ हजार भन्दा बढी रकम ल्याउनका लागि पहल गरिरहेको जानकारी दिनु भयो। यसले प्रदेशको पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ,उहाँले भन्नु भयो,‘ यसका लागि प्रदेश सरकारले पहल गर्छ। प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारीले प्रदेशका योजना व्यवस्थित गर्न काम गरिरहेको बताउनुभयो।

आयोगका पूर्व उपाध्यक्ष डा रघुराज काफ्ले ओमधरानन्द राजोपाध्याय र डा अजयचन्द्र लालले मुलुकको आर्थिक समृद्धि र नागरिकको रोजगार एवं आयआर्जनलाई ध्यानमा राखी विकासको कामलाई गतिदिनु पर्ने सुझाव दिनु भयो। सो अवसरमा राष्ट्रिय योजना आयोग पूर्व उपाध्यक्ष जगदीशचन्द्र पोखरेलले कार्यपत्र प्रस्तुत गर्दै योजना पहिचान गरी विकासको कार्यलाई निरन्तरता दिनु पर्ने सुझाव दिँदै प्रदेशमा व्यवासयिक क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिनु भयो।