काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार स्वच्छ, सक्षम, निष्पक्ष, जनउत्तरदायी शासन व्यवस्था प्रति प्रतिबद्ध रहेको बताउनुभएको छ।
मंगलबार संघीय संसद्को राज्य व्यवस्था समितिको बैठकमा बोल्दै ओलीले संविधानले गरेको व्यवस्थाको प्रभाकारी कार्यान्वयन गर्ने कुरामा सरकार प्रतिबद्ध रहेको बताउनुभयो। यसबाट नै देशमा विकास र समृद्धि ल्याउन सकिन्छ भन्ने कुरामा सरकार स्पष्ट रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो। त्यसको लागि भ्रष्टाचार निवारण ऐन २०५९ मा संशोधन गर्न आवश्यक रहेको उहाँले धारणा राख्नु भयो।
नेपाललाई समृद्ध बनाउन र नेपाली जनतालाई सुखी बनाउनका निमित्त भ्रष्टाचार तगारोका रूपमा रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो। ‘हामी समृद्ध देश बनाउने र देशका जनतालाई सुखी बनाउने दिशामा अगाडि बढिरहेका छौँ, यस दिशामा खतरनाक तगारो भनेको भ्रष्टाचार हो’, ओलीले भन्नुभयो।

प्रधानमन्त्री ओलीले कर लगाएर मात्रै नहुने बताउँदै कर छली रोक्नु पनि त्यतिकै जरुरी रहेको बताउनुभयो। भ्रष्टाचारका विभिन्न रूपको पहिचान गरी त्यसलाई नियन्त्रण गर्न सरकार दृढ रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो। ‘कसैले कसुर गर्यो भने मुख हेरेर, अनुहार हेरेर कसुरमा क्षमा गर्ने यो काम सरकारले गर्दैन’, उहाँले भन्नुभयो।
अहिलेको सरकार प्रतिशोधका लागि नबनेको पनि ओलीले प्रष्ट पार्नुभयो। ‘सरकार अर्थतन्त्रमा सुधार विकासमा गति ल्याउनको लागि हो, त्यसकारण यसले कसै प्रति आग्रह, पूर्वाग्रह राख्ने, कसै प्रति अनावश्यक, अनुचित, झुटा कुराहरू उछाल्ने र कसैलाई दुःख दिने खालका पनि गर्दैन भन्ने कुरा म स्पष्ट गर्न चाहन्छु, कसैलाई दुःख दिने यो सरकारको मनसाय छैन’, आलीले भन्नुभयो।
प्रधानमन्त्री ओलीले कानूनमा सबै बराबर हुने भएकोले सरकारले कसैले गल्ती गर्यो भने नछाड्ने पनि स्पष्ट पार्नुभयो।
प्रधानमन्त्री ओलीले विभिन्न कारणले मानिसहरूमा फ्रस्टेसन आउने बताउँदै नागरिकमा देखिएको निराशा चिर्न लाग्नु पर्ने बताउनुभयो। लोकतन्त्रको संस्थागत विकाससँगै समृद्धिका कामबाट यो निराशा चिर्न सकिने उहाँको भनाइ छ।




प्रतिक्रिया