अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्न: प्रधानमन्त्री ओली

म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्न: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार नसहने प्रतिबद्धता दोहोराउनुभएको छ।
मंगलबार संघीय संसद्को राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार विरुद्धको आफ्नो पुरानो प्रतिबद्धता यथावत् रहेको बताउनुभयो। ‘मैले जिन्दगीमा कहिल्यै भ्रष्टाचार गरिनँ, सहिनँ पनि, मेरो नजरभन्दा बाहिरबाट भ्रष्टाचार हुनु बेग्लै कुरा हो’, ओलीले भन्नुभयो।

राजनीतिक रूपमा कसैले लाञ्छित गर्न खोज्नु र हिलो छ्याप्ने प्रयास गर्नु बेग्लै कुरा भए पनि आफू कुनै पनि भ्रष्टाचारका घटनामा संलग्न नरहेको ओलीले दाबी गर्नुभयो। ‘म दावाका साथ भन्छु यो धर्तीका अदालतमा मात्र होइन कि चित्रगुप्तका अगाडि पनि जवाफ दिन तयार छु’, ओलीले भन्नुभयो।

ओलीले आफूलाई कुनै आर्जन गर्नु नभएको प्रष्ट पार्नुभयो। ‘राज्यको सम्पत्ति, सार्वजनिक सम्पत्ति अपचलन गरेर आफ्नो बनाउनु छैन, त्यो मेरो नैतिकताले पनि दिँदैन, मलाई आवश्यक पनि छैन, त्यो मेरो सोच पनि होइन’, उहाँले भन्नुभयो।

सामाजिक सञ्जालमा कसले कहाँ गाली गर्‍यो, कसले मुख छाड्यो त्यसको पछि लाग्न नसकिने ओलीले बताउनुभयो। मैले भ्रष्टाचार गरिनँ, गर्न कसैलाई इजाजत पनि दिएको छैन, कहिले कहिले मेरो बुताभन्दा बाहिर, मेरो जानकारी भन्दा बाहिर अरूले गरेका कुरा रोक्न नसकिएको होला तर गर्न दिएको होइन, म स्पष्ट गराउन चाहन्छु, फेरि पनि मेरो प्रतिबद्धता, दृढ प्रतिबद्धता छ– म भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न, जो कोही होस्’ ओलीले भन्नुभयो।

उहाँले भ्रष्टाचारको मामलामा कसैको अनुहार नहेरी कडा रूपमा अघि बढ्ने बताउनुभयो। यो प्रचारबाजीको लागि नभएर स्थिति र अवस्थामा सुधार ल्याउनको लागि गरिएको प्रतिबद्धता भएको उहाँले प्रष्ट पार्नुभयो। आफूले देशको लागि काम गर्न अहिलेको सरकारको नेतृत्व गरेको ओलीले बताउनुभयो।

नीतिबिना भएका कामलाई नीतिमा ल्याउन आवश्यक भएको बताउनुभयो । नीति नहुँदा पनि व्यवहार चल्ने भए पनि त्यसलाई क्रमशः कानुन बनाएर थिति विधिमा ल्याउनु पर्ने उहाँको धारणा छ।

उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राजनीतिक नियुक्ति नभएको पनि प्रष्ट पार्नुभयो। निजामती सेवामा स्वछ भनेर मानिएका मानिसहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आउने उहाँले बताउनुभयो।

कसैलाई धित नमरेको हुन सक्ने भए पनि संसदीय सुनवाई समितिले राम्रो काम गरेको ओलीले बताउनुभयो । कतिपय न्यायाधीश र संवैधानिक आयोगका सदस्य बन्न लागेका मानिसहरूलाई समेत सुनुवाइ समितिले रोकेको उहाँले उदाहरण दिनुभयो।

ओलीले आफू हरेक सच्चिनु पर्ने र अरूलाई पनि सच्याउनु पर्ने बताउनुभयो। आफ्नो लागि अलग कानुन र अरूको लागि अलग कानुनको कल्पना गर्न नहुने उहाँको धारणा छ।

Skip This