अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुशासनका लागि बेथितिको अन्त्य जरुरी छ: सञ्चारमन्त्री गुरुङ

सुशासनका लागि बेथितिको अन्त्य जरुरी छ: सञ्चारमन्त्री गुरुङ


काभ्रेपलाञ्चोक-सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जुन क्षेत्रमा बेथिति र राजनीतिकरण हुन्छ त्यसलाई तत्काल अन्त्य गर्नु जरुरी रहेको बताउनुभएको छ।

उहाँले नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ (आइटिएफ)को आज काभ्रेपलाञ्चोकको बनेपामा आयोजित २७ औँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै बेथिति र राजनीतिकरणले कुनै पनि विकास तथा योजना सफल नहुने भएकाले तत्काल त्यस्ता गतिविधिको अन्त्यको आवश्यकता औँल्याउनुभयो। 

‘सुशासनका लागि बेथिति र राजनीतिकरणको अन्त्य जरुरी छ, यी तत्वहरू हरेक विकासका बाधक हुन्, यसले मुलुकलाई राम्रो गर्दैन’, उहाँले भन्नुभयो। उहाँले राजनीतिक स्थायित्व र विकासका लागि यो सरकार बनेको उल्लेख गर्दै सरकार आगामी चुनावसम्म जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले एक सय दिनमा दीर्घकालीन महत्त्वका काम गर्नेछ।  ६ महिनासम्म सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानलाई रफ्तारमा लागि सक्ने छ।’ उहाँले वर्षौँसम्म राष्ट्रिय सहमति नभएको शान्ति प्रक्रियाको बाँकी काम बेपत्ता छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन (सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक) निर्माण सहमति यो सरकारको पहिलो र ठूलो उपलब्धि मानिएको बताउनुभयो ।

मन्त्री गुरुङले खेल क्षेत्रमा नाम र दाम कमाउने मात्र नभई पर्यटनमैत्री, अनुशासित र पहिचानमैत्री हुनुपर्ने बताउनुभयो । ‘हाम्रो देशको खेल र खेलाडी विश्वको कम्तीमा २० देशलाई चिनाउन सक्ने हुनुपर्दछ, अनि मात्रै राष्ट्रको गौरव बढ्दै जानेछ’, उहाँले भन्नुभयो । खेलकुदमा सरकारको बजेट कम छ भएकाले अर्थ र खेलकुद मन्त्रालयसँग समन्वय गरी आगामी बजेटमा बढाउँदै लगिने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीसँग भौतिक पूर्वाधार नहुँदा इन्डोर-आउटडोरका खेल प्रभावकारी हुन सकेका छैनन्, दशरथ रङ्गशालाबाहेक अन्य स्थानमा निर्माण एवं सञ्चालन गर्न सकिएको छैन, अब बजेट बढाउँदै खेल क्षेत्रलाई अघि बढाउनुपर्छ।’

सञ्चारमन्त्रीले समग्र खेलकुद क्षेत्रको विकासका लागि वार्षिक रु ५० अर्ब चाहिने प्रक्षेपण गर्नुभयो। ‘हामी पनि परिवर्तन कै लागि लडिरहेका छौँ, तपाईंहरू पनि खेल क्षेत्रको विकास मै लागि रहनुभएको छ, यस क्षेत्रमा बजेट बढाउँदै जान्छौँ, स्वदेशमै बसेर खेलका हरेक विधामा विकास गर्दै जाऊ, हामी खेल क्षेत्रमा अब्बल बन्दै जानछौँ’, उहाँले दोहोर्‍याउनुभयो।

मन्त्री गुरुङले महासङ्घद्वारा घोषित तेक्वान्दोका सर्वोत्कृष्ट पुरुष खेलाडी रिक्सन वाइबा, सर्वोत्कृष्ट महिला खेलाडी सुष्मिता थापा, उत्कृष्ट प्रदेश महासङ्घ लुम्बिनी, उत्कृष्ट जिल्ला काठमाडाँै तथा उत्कृष्ट प्रशिक्षक कृष्ण थापा, उदियमान खेलाडी सजिना तामाङ, उदियमान प्रशिक्षक मनोज पुलामीलाई सम्मान गर्नुभएको थियो।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमलाले खेलकुद क्षेत्रको थप विकासका लागि सरकारले पर्याप्त बजेट छुट्याउनुपर्ने बताउँदै खेलाडीको मेहिनतको कदर गर्नुपर्ने बताउनुभयो । महासङ्घका अध्यक्ष प्रवीणकुमार कार्कीले महासङ्घले देशभर तेक्वान्दोका दक्ष खेलाडी उत्पादनका लागि तालिमलगायत गतिविधि गरिरहेको बताउनुभयो। 

Skip This