अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रकृति र मान्छे जोडिएन भने प्रकृतिको संरक्षण हुन सक्दैन: शंकर पोखरेल

प्रकृति र मान्छे जोडिएन भने प्रकृतिको संरक्षण हुन सक्दैन: शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले वन क्षेत्रको संरक्षणको लागि विगतको दृष्टिकोण बदल्नु पर्ने बताउनुभएको छ।

सामुदायिक वन दिवस-२०८१ को अवसरमा नेकपा एमाले केन्द्रीय वन तथा वातावरण विभागद्वारा शुक्रबार काठमाडौंमा आयोजित ‘वनको दिगो व्यवस्थापन, समृद्धि तथा जलवायु न्याय’ राष्ट्रिय नीति संवाद कार्यक्रममा बोल्दै महासचिव पोखरेलले प्रकृति र मान्छे जोडिएन भने प्रकृति सधैँभरि संरक्षण हुन नसक्ने बताउनुभयो। ‘मान्छेसँग नजोडिएको संरक्षणको कुनै अर्थ हुँदैन’, उहाँले भन्नुभयो।

परम्परागत संरक्षणका विषय अहिलेको अवस्थामा सार्थक नहुने उहाँले बताउनुभयो। प्रकृतिलाई आजको मान्छेको आवश्यकता अनुसार प्रयोग गर्ने गरी नीति बनाउनु पर्ने उहाँको राय छ।

पोखरेले अहिलेका धेरै कानून प्रकृति र वन संरक्षणमा बाधक भएका बताउनुभयो। त्यसैले यस्ता कानून सुधार नगरेसम्म वन संरक्षण हुन नसक्ने उहाँले प्रष्ट पार्नुभयो।

अर्ग्यानिक उत्पादन र पर्यापर्यटनलाई जोड्न सक्ने हो भने नेपालको समृद्धिको आधार त्यसैले तयार गर्ने पोखरेलले बताउनुभयो। मानिसलाई प्रकृतिसँग जोडेर लाभ लिने नीत बनाउनु पर्ने उहाँको सुझाव छ।

नेपालको वन सम्बन्धी कानूमा कमजोर दण्डित हुने तर पहुँचवालाले दोहन गरिरहने स्थिति रहेको बताउनुभयो। वन पैदावारको उपभोगको विषयमा समग्र अध्ययन गरी कानुन बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । ‘मान्छे र प्रकृति कहिल्यै अलग नगर्ने गरी नीति निर्माण गर्ने कुरामा जाऊँ’, उहाँले भन्नुभयो।

उहाँले अरूका लागि हाम्रो प्रकृति संरक्षण गरिदिन नसकिने बताउनुभयो। विश्व समुदायको लागि नेपालको प्रकृति नेपालीले संरक्षण गरिदिन नसकिने उहाँले प्रष्ट पार्नुभयो। यो दृष्टिकोणका आधारमा नीति निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। ‘हाम्रो प्रकृति हाम्रा लागि, मुख्य प्रश्न यो हो, हाम्रो प्रकृति अरूका लागि भन्ने कुरा दोस्रो कुरा हो’, उहाँले भन्नुभयो।