अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आर्थिक-सामाजिक परिवर्तनमा युवाको भूमिका आवश्यक छ: उपप्रधानमन्त्री सिंह

आर्थिक-सामाजिक परिवर्तनमा युवाको भूमिका आवश्यक छ: उपप्रधानमन्त्री सिंह


ललितपुर-उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले आर्थिक-सामाजिक परिवर्तनमा युवाको भूमिका आवश्यक रहेको बताउनुभएको छ।

अन्तर्राष्ट्रिय युवा दिवस, २०२४ का अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले युवालाई सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गर्नुभयो। ‘हरेक परिवर्तनमा युवाको ठूलो भूमिका हुन्छ, हामी युवा हुँदा लोकतान्त्रिक मूल्य मान्यताका लागि सङ्घर्ष गर्यौं, राजनीतिक परिवर्तनका लागि काम गर्यौं, अब त्यो अवस्था छैन, अहिले संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी भएको छ। प्राप्त अधिकारको कार्यान्वयन गराउँदै देशलाई फाइदा हुनेगरी सबैको आर्थिक समृद्धि गराउनतर्फ लाग्नुपर्छ,’ उहाँले भन्नुभयो।

जिम्मेवारी र दायित्वबाट पन्छिएर आरोपप्रत्यारोपबाट मात्रै प्रगति हुन नसक्ने उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले एकताबद्ध भएर आर्थिक–सामाजिक रुपान्तरण गर्न लाग्नुपर्ने बताउनुभयो। “युवा बेरोजगारी समस्याबाट पीडित छन्, दैनिक एक हजार सात सयदेखि दुई हजार पाँच सयको सङ्ख्यामा युवा देशबाट बाहिरिने गरेको तथ्याङ्क छ। विगतको भन्दा केही परिवर्तन भएन भन्नुभन्दा  पहिला र अहिलेको अवस्था तुलना गरेर हेर्नुपर्छ, शिक्षा, स्वास्थ, रोजगार, यातायात, डिजिटल प्रविधिको क्षेत्रमा विकास भएको छ,’ उहाँले भन्नुभयो।

उपप्रधानमन्त्री सिंहले सत्य र असत्य कुरा छुट्याउन सक्नुपर्छ भन्नुहुँदै नकारात्मक मानसिकतामा आधारित रहेर लेखिएको कुरालाई पनि सबै सत्य नै हो भनेर त्यसैलाई सही हो भन्ने आधारमा हेर्न सकिँदैन भन्नुभयो। उहाँले राम्रो सोचबाट काम गरेर अवस्था परिवर्तन गर्न सकिने बताउँदै युवाहरु सकारात्मक परिवर्तनमा लाग्नुपर्नेमा जोड दिनुभयो।

‘राजनीतिक परिवर्तनमा मात्रै हैन, आर्थिक–सामाजिक परिवर्तनमा पनि युवाको भूमिका महत्वपूर्ण हुन्छ । अवस्था परिवर्तन गर्न युवाले जिम्मेवारी बोध गर्दै काम गर्नुपर्छ’, उहाँले भन्नुभयो ।

अन्तर्राष्ट्रिय युवा दिवस, २०२४ का अवसरमा नेपाल युवा संस्था सञ्जालद्वारा १२ बुँदे माग समेटेर जारी गरिएको घोषणापत्रमा धेरै कुरालाई लक्षित गरिएको उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले माग सम्बोधन गर्न आफ्नोतर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘भिजन २०२५’ का बारेमा आवश्यक छलफल गरेर काम गर्ने तथा भदौ महिनाभित्रै राष्ट्रिय युवा नीति जारी हुने गरी मन्त्रालयले तयारी गरिरहेको जानकारी दिनुभयो। विकृति र विसङ्गति अन्त्य गर्नेगरी डिजिटल प्रविधिलाई उपयोग गर्न उहाँले आग्रह गर्नुभयो। शिक्षण पेसामा युवाको सहभागिता आवश्यक रहेकामा उहाँको जोड थियो । युवा परिषद्मार्फत पाँच वर्षमा तिर्नेगरी निव्र्याजी रु पाँच लाख व्यवसाय गर्नका लागि ऋण उपलब्ध गराइएको जानकारी गराउँदै मन्त्री चौधरीले यसको सदुपयोग गर्न अनुरोध गर्नुभयो।

‘मन्त्रालयको ६० प्रतिशतभन्दा बढी बजेट राष्ट्रिय खेलकुद परिषद्मा जाने गरेको छ, शिक्षा र खेलकुदलाई सँगसँगै लैजानुपर्छ, खेलकुद परिषद्मार्फत सञ्चालन हुने कार्यक्रमलाई सही सदुपयोग गर्न र लाभ हासिल गर्न आग्रह गर्दछु,’ उहाँले भन्नुभयो।

नेपालमै बसेर काम गर्ने दक्ष जनशक्तिको अभाव हुँदै गएको भन्दै मन्त्री चौधरीले शिक्षण पेसामा लाग्ने व्यक्तिको अभावले विदेशबाट ल्याउनुपर्ने अवस्था आएकोतर्फ युवालाई सचेत गराउनुभयो।

बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले प्रविधिको युगमा युवाहरु निराश हुनुपर्ने अवस्था नरहेको भन्दै देशभित्रै भविष्य खोज्न लाग्नुपर्ने बताउनुभयो । उहाँले काम सानो र ठूलो नहुने भन्दै आफ्नै देशभित्र जस्तोसुकै काम गर्न पनि तयार हुनुपर्ने बताउनुभयो। बागमती प्रदेशले प्रदेश युवा नीति, युवा वैज्ञानिक प्रोत्साहन कार्यविधि बनाएको जानकारी गराउँदै उहाँले १३ जिल्लाका युवालाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अन्तर्राष्ट्रिय युवा दिवसले युवाको सक्रियतामा विश्वव्यापी छलफल, बहस र दिगो विकास लक्ष्यका लागि साझा थलोको परिकल्पना गरेको बताउनुभयो । उहाँले युवा राष्ट्र निर्माणका लागि निरन्तर क्रियाशील हुनुपर्ने र प्रविधिमार्फत दिगो विकास लक्ष्य हासिल गर्दै गरिबी निवारणमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

 राष्ट्रिय योजना आयोगका सदस्य जयबहादुर टण्डनले देशको प्राकृतिक स्रोत र साधनको उचित प्रयोग गर्दै मानव संसाधनको उपयोग गरी आर्थिक सामाजिक रुपान्तरणमा लाग्नुपर्ने बताउनुभयो।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले अहिलेको अवस्थामा देशभित्रै आशा, भरोसाका साथै उद्यमशीलता र रोजगारीको अवसर सृजना गर्न सक्नुपर्ने बताउनुभयो। सामाजिक अभियन्ता रमण भट्टराई र नेपाल युवा संस्था सञ्जाल ९आयोन०का अध्यक्ष विकल राईले सफलताका लागि सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो। हरेक वर्ष अगस्त १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसका रुपमा मनाइँदै आएको छ। ‘दिगो विकास लक्ष्यमा अभिवृद्धि र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँचको अभिवृद्धि’ नाराका साथ यस वर्ष अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ।