काठमाडौं-सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यको बयान लिएको छ।
आज समितिले सिंहदरबारस्थित आफ्नै सचिवालयमा आचार्यको बयान लिएको हो।
सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा जाँदा आचार्यको तर्फबाट गएकोबारे समितिले उहाँसँग सोधपुछ गरेको हो। आचार्यले गोर्खा मिडियामा क्रिएटिभ डाइरेक्टरका रूपमा समेत काम गर्नुभएको थियो।
गितेन्द्रबाबु (जीबी) राई नेतृत्वमा खुलेको सहकारीबाट बचतकर्ताको रकम अपचलनमा रास्वपा सभापति रवि लामिछाने मात्र होइनन् पार्टीका सहमहामन्त्री आचार्य पनि जोडिएका छन्। २०७८ पुस ६ मा सूर्यदर्शन सहकारीबाट रु.१ करोड र पुस १२ मा सुप्रिम सहकारीबाट रु.१ करोड ५६ लाख १५ हजार गरी कुल रु.२ करोड ५६ लाख १५ हजार रुपैयाँ आचार्यको तर्फबाट गोर्खा मिडियामा गएको कागजातहरूबाट देखिएको छ। आचार्यले सहकारीको रकम गोर्खा मिडियामा ल्याएका मात्र होइनन्, गोर्खा मिडियाबाट आफ्नो कम्पनीमा पनि सारेका छन् ।
समितिसँग उहाँले सहकारीको रकम अपचलनमा आफ्नो कुनै भूमिका नभएको बताउनु भएको छ। समितिले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा विभिन्न व्यक्तिलाई बोलाएर बयान तथा छलफल गर्दै आएको छ।




प्रतिक्रिया